प्रमाण जल्यो, भ्रष्टाचारको बाटो किन बन्द भएन?

अन्तरिम सरकारदेखि वर्तमान सरकारसम्म जवाफदेहिताको प्रश्न : ९० दिनभित्र कागजी नोट खारेजीको माग

जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पसमा भएको भनिएको करोडौँ रुपैयाँको आर्थिक हिनामिना र त्यससँग सम्बन्धित प्रमाण आगजनीमा नष्ट भएको घटनाले नेपालको वित्तीय व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थीले शुल्क बुझाए, रसिद पाए, तर रकम बैंकमा पुगेन भन्ने आरोप छ। छानबिनका लागि आवश्यक कागजातसमेत आगजनीमा नष्ट भएको विवरण सार्वजनिक भएको छ। यो एउटा क्याम्पसको मात्र समस्या होइन। यो नगदमा आधारित हाम्रो आर्थिक संरचनाको कमजोरी पनि हो।

फलाम, सुन, मिठाई र नोटको भिन्नता

कसैले दस लाख रुपैयाँको फलाम गैरकानुनी रूपमा प्राप्त गरेको छ भने त्यसको भौतिक अस्तित्व हुन्छ। आगलागीपछि पनि त्यसका अवशेष भेटिन सक्छन्। कसैले करोडौँ रुपैयाँ बराबरको सुन लुकाएको छ भने आगलागीमा त्यसको स्वरूप फेरिए पनि धातुका अवशेष रहन सक्छन्। कसैले मिठाईको प्याकेट उपहार दिएको छ भने त्यसलाई सामान्य सामाजिक व्यवहार मान्न सकिन्छ। तर त्यही उपहारको आवरणमा नगद घूसको लेनदेन भएमा त्यसको स्रोत र उद्देश्य पत्ता लगाउन कठिन हुन्छ। कागजी नोटको समस्या अझ फरक छ। यसको भौतिक अस्तित्व नष्ट हुन सक्छ र नगद लेनदेनको स्वतन्त्र वित्तीय अभिलेख नहुँदा वास्तविक कारोबार पहिचान गर्न कठिन हुन्छ। बैंकिङ प्रणालीबाट गरिएको कारोबारको अभिलेख भने सम्बन्धित कार्यालयमा आगलागी भए पनि बैंक तथा अन्य सुरक्षित प्रणालीमा रहन सक्छ। त्यसो हो भने राज्यले कुन प्रकारको आर्थिक प्रणालीलाई प्राथमिकता दिने?

अन्तरिम सरकारले गुमाएको अवसर

जेनजी आन्दोलनले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनको माग उठाएको थियो। सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकार, अर्थमन्त्री रामेश्वर खनाल तथा ओम अर्यालसहितको नेतृत्वबाट जनताले संरचनागत सुधारको अपेक्षा गरेका थिए। उनीहरू सामु भ्रष्टाचार नियन्त्रणका लागि वित्तीय प्रणाली सुधार्ने एउटा ऐतिहासिक अवसर थियो। तर कागजी नोट खारेजीको स्पष्ट कार्ययोजना ल्याइएन। नगदमा आधारित आर्थिक प्रणालीले निरन्तरता पायो।

त्यसैले तत्कालीन नेतृत्वलाई प्रश्न छ

  • नगद कारोबारले भ्रष्टाचारको प्रमाण सङ्कलनमा पारेको समस्यालाई किन प्राथमिकता दिइएन?
  • कागजी नोटको प्रयोग घटाउने समयबद्ध कार्यक्रम किन ल्याइएन?
  • सरकारी तथा सार्वजनिक संस्थाको सम्पूर्ण आम्दानी र खर्चलाई अनिवार्य रूपमा डिजिटल अभिलेखमा राख्ने व्यवस्था किन प्रभावकारी बनाइएन?

भ्रष्टाचारविरुद्धको प्रतिबद्धता केवल व्यक्तिको छानबिनमा होइन, भ्रष्टाचार गर्न सहज बनाउने संरचनाको सुधारमा पनि देखिनुपर्छ।

वर्तमान सरकारलाई अझ कति समय चाहिन्छ?

वर्तमान सरकारलाई पनि वित्तीय पारदर्शिताका लागि ठोस निर्णय लिने अवसर छ। सरकार परिवर्तन भयो, मन्त्री परिवर्तन भए, राजनीतिक नेतृत्व परिवर्तन भयो। तर कागजी नोटमा आधारित पुरानो आर्थिक संरचना परिवर्तन भएको छैन। नगद कारोबारबाट लाभ उठाउने कुनै स्वार्थ समूहले वित्तीय सुधारमा अवरोध गरिरहेको छ कि छैन भन्ने प्रश्नको सरकारले पारदर्शी जवाफ दिनुपर्छ। नीतिगत निष्क्रियतालाई मात्र व्यक्तिगत भ्रष्टाचारको प्रमाण मान्न मिल्दैन। तर सुधार नगर्नुको कारण सार्वजनिक गर्नु सरकारको जिम्मेवारी हो।

दस वर्षको आवाज सरकारले कहिले सुन्ने?

अपराध सुधारका लागि नोट खारेजी अभियानले विगत एक दशकदेखि कागजी नोट खारेजीको माग गर्दै आएको छ। हाम्रो अभियान कुनै एउटा पार्टी, नेता वा सरकारविरुद्ध होइन। हाम्रो आवाज आर्थिक अपराधलाई सहज बनाउने अपारदर्शी वित्तीय संरचनाविरुद्ध हो। भ्रष्टाचार, हुण्डी, मानव तस्करी, लागूऔषध कारोबार, कर छली, सुन तस्करी तथा निर्वाचनमा हुने अपारदर्शी खर्च नियन्त्रण गर्न वित्तीय कारोबारको अभिलेख अत्यन्त आवश्यक हुन्छ। कागजी नोट खारेजीले मात्र सबै अपराध समाप्त गर्दैन। तर यसले नगदमा आधारित अपारदर्शी कारोबारलाई कठिन बनाउन र अनुसन्धानका लागि प्रमाण उपलब्ध गराउन सहयोग गर्न सक्छ।

सरकारले ९० दिनभित्र के गर्न सक्छ?

पहिलो ३० दिन : सरकारी कार्यालय, विद्यालय, क्याम्पस, अस्पताल र व्यावसायिक प्रतिष्ठानमा डिजिटल तथा बैंकिङ भुक्तानीको पहुँच विस्तार गर्ने।

दोस्रो ३० दिन : कम्तीमा ५० प्रतिशत कारोबार नगदरहित बनाउने लक्ष्य राख्ने तथा सार्वजनिक संस्थाको वित्तीय अभिलेख सुरक्षित डिजिटल प्रणालीमा राख्ने।

तेस्रो ३० दिन : कम्तीमा ९० प्रतिशत कारोबार नगदरहित बनाउने लक्ष्यसहित कागजी नोट खारेजीतर्फ अगाडि बढ्ने।

दुर्गम क्षेत्र, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बैंकिङ पहुँच नभएका नागरिक र साना व्यवसायीका लागि आवश्यक वैकल्पिक सुविधा तथा स्थानीय तहको सिफारिसमा विशेष समय उपलब्ध गराउने गस्र्न्स सकिन्छ। साथै अवैध सम्पत्ति नियन्त्रणसँगै वैध बचत, नागरिकको गोपनीयता र सम्पत्तिको अधिकारको संरक्षण पनि सुनिश्चित गर्ने गर्न सक्छ।

सरकारलाई अन्तिम प्रश्न

फलामको अवशेष खोज्न सकिन्छ। सुनको अवशेष परीक्षण गर्न सकिन्छ। तर अभिलेखविहीन नगद कारोबारमा वास्तविक रकम, स्रोत र प्राप्तकर्ता पत्ता लगाउन किन यति कठिन बनाइएको छ? सरकारले प्रमाण खोज्न मात्र स्रोत खर्च गर्ने कि प्रमाण सुरक्षित रहने आर्थिक प्रणाली पनि निर्माण गर्ने?

सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू तथा नेपाल राष्ट्र बैंकका गभर्नरज्यू, जनतालाई भ्रष्टाचार र आर्थिक अपराधको पीडाबाट राहत दिनुहोस्। कागजी नोट खारेजीको समयबद्ध राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्नुहोस्। प्रमाण खोज्ने सरकार मात्र होइन, प्रमाण सुरक्षित राख्ने व्यवस्था निर्माण गर्ने सरकार बन्नुहोस्।

नोट खारेजीको अभियान—९० दिनभित्र वित्तीय पारदर्शितातर्फ ऐतिहासिक कदम।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ