म फलाम थिएँ,
आगोले पोल्यो, आकार फेरियो,
तर मेरो अस्तित्व बाँकी रह्यो,
मेरो परिचय खरानीमा हराएन।
म सुन थिएँ,
आगोले मलाई पगाल्यो,
रूप फेरियो, रङ फेरिएन,
मेरो कथा कसैले मेटाउन सकेन।
म मिठाईको एउटा बट्टा थिएँ,
बाहिर शुभकामना लेखिएको थियो,
भित्र के थियो, कसलाई थाहा?
मुस्कानभित्र प्रश्न लुकेको थियो।
म विद्यार्थीको पसिना थिएँ,
आमाको गहना बेचेर जुटेको शुल्क,
बुबाको च्यातिएको कमिजको मूल्य,
तर लेखाको हिसाबमा हराएँ।
म कागजी नोट थिएँ,
कसैको मेहनत, कसैको लोभ,
कसैको भविष्य, कसैको कमिसन,
मेरो यात्रा कसैले लेखेन।
सरकार फेरियो,
कुर्सीमा नयाँ अनुहार बस्यो,
न्यायका नयाँ भाषण सुनिए,
पुरानो व्यवस्थाले निरन्तरता पायो।
कार्कीको पालो आयो र गयो,
खनालका योजनाहरू पनि आए,
अर्यालसँग जनताका अपेक्षा थिए,
तर नोटहरू उस्तै चलिरहे।
आज पनि राज्य सोधिरहेछ-
कहाँ गयो पैसा?
खरानीको थुप्रो पल्टाउँदै,
खोजिरहेछ हराएको हिसाब।
ए सरकार!
खरानीमा न्याय खोज्नुभन्दा,
नजल्ने अभिलेख बनाऊ,
जनताको पसिनाको मूल्य बचाऊ।
नोट नभए पनि मूल्य रहन्छ,
कागज नभए पनि मुद्रा रहन्छ,
इमानको हिसाब सुरक्षित भए,
भोलिको पुस्तामा आशा रहन्छ।