कर सूचना चुहावटको आशंकाले उठाएको गम्भीर प्रश्न
कोरला नाका हुँदै भित्रिएका ७५० भन्दा बढी विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएपछि नेपालको राजस्व प्रशासन र बजेट गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ। प्रारम्भिक विवरणअनुसार बजेट सार्वजनिक हुनुअघि नै कर दर परिवर्तनसम्बन्धी सूचना बाहिरिएको आशंकामा सवारीसाधनहरू नियन्त्रणमा लिइएका छन् र यस विषयमा सरकारी छानबिनसमेत सुरु गरिएको छ। यस्तो घटना सामान्य प्रशासनिक कमजोरी मात्र होइन, राज्यको वित्तीय विश्वसनीयतामाथिको गम्भीर चुनौती हो।
प्रश्न केवल कर्मचारीमाथि होइन, अर्थ मन्त्रालयको नेतृत्वमाथि पनि उठ्छ
बजेट निर्माण प्रक्रिया देशकै सबैभन्दा संवेदनशील प्रक्रिया हो। करका दर, भन्सार नीति तथा राजस्वसँग सम्बन्धित सूचना सीमित दायराभित्र रहनुपर्ने विषय हुन्। यदि ती सूचना सार्वजनिक हुनुभन्दा अगाडि नै बाहिरिएका हुन् भने त्यसको नैतिक र राजनीतिक जिम्मेवारी अन्ततः अर्थ मन्त्रालयको नेतृत्वले लिनुपर्छ।
कुनै मन्त्रालयमा बारम्बार विवाद हुने, कर नीतिमा अस्वाभाविक उतारचढाव देखिने, विद्युतीय सवारीसाधनसम्बन्धी निर्णयमाथि प्रश्न उठ्ने र अन्ततः बजेट गोपनीयतामाथि नै शंका पैदा हुने अवस्था आउँदा त्यसलाई सामान्य घटना भनेर बेवास्ता गर्न सकिँदैन।
जवाफदेहिताको संस्कृति स्थापित गर्न राजीनामा आवश्यक
लोकतन्त्रमा राजीनामा अपराध स्वीकार गर्नु होइन। बरु अनुसन्धानलाई निष्पक्ष बनाउने, संस्थामाथिको विश्वास जोगाउने र राजनीतिक जवाफदेहिता प्रदर्शन गर्ने माध्यम हो। यदि अर्थ मन्त्रालयअन्तर्गत भएको प्रक्रियामै प्रश्न उठेको छ भने अर्थमन्त्रीले पदमा बसिरहेर छानबिनलाई प्रभावित नगर्ने वातावरण सिर्जना गर्नु आवश्यक हुन्छ।
विकसित लोकतन्त्रहरूमा यस्ता विवादमा प्रत्यक्ष संलग्नता प्रमाणित हुनुअघि नै मन्त्रीहरूले नैतिक जिम्मेवारी लिएर पद त्यागेका उदाहरण प्रशस्त छन्। नेपालमा पनि राजनीतिक संस्कृतिलाई नयाँ उचाइमा पुर्याउन त्यस्तै अभ्यास आवश्यक छ।
निष्कर्ष : अर्थमन्त्रीको अब पदमा बस्ने औचित्य छैन
वर्तमान सरकार परिवर्तन, पारदर्शिता र सुशासनको नाराका साथ सत्तामा आएको हो। त्यसैले पुराना सरकारहरूले जस्तो विवादलाई सामान्यीकरण गर्ने वा दोष अरूमाथि थोपर्ने संस्कृतिलाई निरन्तरता दिनु हुँदैन। त्यसैले अर्थमन्त्रीले कम गर्न नसक्ने अवस्था देखिसकेकोले अब अर्थमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्छ। प्रधानमन्त्री बालेन्द्र साहले अर्थमन्त्रीको राजिनामा माग्ने पर्छ जेन्जीलाई अवसर दिनुपर्छ।