|

भ्रस्टाचार, अपहरण र लागुऔषध ओसारपसार; नोटको कारण बनेको आजको १० समाचारहरु

१. नक्कली पाँच सयको नोटसहित महिला पक्राउ
कपिलवस्तुको शिवराज नगरपालिकामा एक महिला ५०० रुपैयाँ दरका १९ थान नक्कली नोटसहित पक्राउ परेकी छन्। ती महिलाले चिउरा उद्योगमा बङ्गुरलाई खुवाउने चिउराको धुलो खरिद गर्दा भुक्तानीका लागि नक्कली नोट प्रयोग गरेपछि उद्योग सञ्चालकलाई शङ्का लागेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

२. भारतीय नागरिक ब्राउन हेरोइनसहित पक्राउ
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भारतका उत्तर प्रदेश घर भएका ४० वर्षीय मोहम्मद रिजवानलाई ६३ ग्राम ५३० मिलिग्राम ब्राउन हेरोइनसहित पक्राउ गरेको छ। बरामद गरिएको लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएर स्रोत तथा संलग्न सञ्जालबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

३. कञ्चनपुरमा जुवाखालमा छापा, ११ जना पक्राउ
कञ्चनपुरमा प्रहरीले सञ्चालन गरेको छापामार कारबाहीमा जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घरमा जुुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरूको साथबाट नगद रकम तथा जुवामा प्रयोग हुने सामग्री बरामद गरिएको छ। पक्राउ परेकामाथि सार्वजनिक जुवा ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ।

४. चाबहिल नापी कार्यालयका अमिन घुससहित पक्राउ
काठमाडौंको चाबहिलस्थित नापी कार्यालयका अमिन टोपजंग खत्रीलाई ६० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्। सेवाग्राहीसँग जग्गा सम्बन्धी काम मिलाइदिने भन्दै रकम मागेको सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

५. मोबाइल चोरीको आरोपमा कुटपिट र मृत्यु
काठमाडौंको पशुपति क्षेत्रमा मोबाइल चोरी गरेको आरोपमा संखुवासभाका अन्दाजी २५ वर्षीय सन्तोष गिरी भनिने सन्तोष परियारलाई बाबाले कुटपिट गरि हत्या गरेको खुलेको छ। ति व्यक्ति पशुपतिमा मृत अवस्थामा भेटिएको थियो। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएका द्रव्यनाथ बाबा भनिने सुविन राना मगरलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ भने भारतीय बाबा फरार रहेका छन्।

६. रिचार्ज कार्डको रकम सहकारीले हिनामिना गर्दा उपचार खर्चको अभाव
रिचार्ज कार्ड बिक्रीबाट उठेको रकम जम्मा गरेकी बेनुमाया कटुवालको रकम सहकारीले फिर्ता नगर्दा उनको परिवार आर्थिक संकटमा परेको छ। बिक्रीबाट प्राप्त रकम सहकारीमा जम्मा गरेपछि फिर्ता नपाउँदा उपचार खर्चसमेत जुटाउन नसकेको पीडित पक्षले जनाएको छ। रकम फसेपछि उनीहरू थप समस्यामा परेका छन्।

७. पूर्व नागरिक उड्डयन महानिर्देशक गौतम जेल चलान
पोखरा विमानस्थल निर्माणको भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका पूर्व नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमलाई अदालतको आदेशपछि जेल चलान गरिएको छ। उनीविरुद्धको मुद्दामा कैद तथा जरिवानाको फैसला कार्यान्वयनका लागि कारागार पठाइएको हो।

८. दक्षिण कोरिया पठाइदिने भन्दै ठगी बढ्यो
दक्षिण कोरिया रोजगारीका नाममा ठगीका घटनाहरू बढ्दै गएपछि नेपालीस्थित दक्षिण कोरियाली दूतावासले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। आकर्षक रोजगारीको प्रलोभन देखाएर रकम असुल्ने गिरोह सक्रिय रहेकाले आधिकारिक प्रक्रियामार्फत मात्र आवेदन दिन दूतावासले अनुरोध गरेको छ।

९. अपहृत बालक चितवनबाट उद्धार, पाँच भारतीय पक्राउ
चितवनबाट अपहरणमा परेका एक बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा पाँच भारतीय नागरिक पक्राउ परेका छन्। बालकलाई फिरौतीका लागि अपहरण गरिएको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

१०. मानव बेचबिखनका दुई प्रतिवादी पक्राउ
मानव बेचबिखनसम्बन्धी मुद्दाका दुई जना फरार प्रतिवादी उदयपुरको बेलका नगरपालिका–६ कि ३६ वर्षीया पूर्णिमा राई र काभ्रेको धुलिखेल नगरपालिका–१ का ३० वर्षीय सञ्जय तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट दोषी ठहर भइसकेपछि फरार रहेका उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यी घटनाहरूले देखाउँछन् कि नक्कली नोट कारोबार, लागूऔषध तस्करी, जुवा, घुस, अपहरण, मानव बेचबिखन, ठगी तथा भ्रष्टाचारजस्ता अधिकांश अपराधमा नगद अर्थतन्त्रले सहज वातावरण उपलब्ध गराएको छ। ठूलो रकम गोप्य रूपमा ओसारपसार गर्न, घुस दिन, फिरौती उठाउन वा अवैध कारोबार सञ्चालन गर्न नगद प्रमुख माध्यम बनेको देखिन्छ। दैनिक उपभोगका सामग्री खरिदका लागि भने नगद अनिवार्य छैन, किनभने डेबिट कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड तथा विद्युतीय भुक्तानी प्रणालीबाट सामान्य कारोबार सहज रूपमा गर्न सकिन्छ। त्यसैले सरकारले नोट खारेजीको दीर्घकालीन नीति अवलम्बन गर्दै सबै पसलमा अनिवार्य डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली लागू गरेमा सर्वसाधारणको दैनिक जीवन प्रभावित नहुने, तर नगदमा आधारित अपराध, भ्रष्टाचार, ठगी तथा अवैध कारोबार नियन्त्रण गर्न सहयोग पुग्नेछ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ