राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशनबाट निर्वाचित भएका धेरै जिल्ला सभापतिहरू विगतमा कांग्रेस, एमाले, माओवादी लगायतका दलहरूमा सक्रिय रहेका व्यक्तिहरू भएको तथ्य सार्वजनिक भएको छ। यो आफैंमा अस्वाभाविक कुरा होइन। लोकतन्त्रमा दल परिवर्तन गर्ने अधिकार सबैलाई हुन्छ। तर प्रश्न यति मात्र हो, के नयाँ राजनीतिक शक्तिमा प्रवेश गर्ने सबै व्यक्तिहरू विचार र सिद्धान्तका आधारमा आएका हुन्, वा सत्ताबाहिर रहेका बेला आफूलाई नयाँ अवसर खोज्ने माध्यमका रूपमा रास्वपालाई प्रयोग गरिरहेका छन् ?
सत्तामा रहेका बेला भ्रष्टाचारको आरोप, गुटबन्दी र अवसरवादसँग जोडिएका धेरै अनुहारहरू जब सत्ताबाट बाहिरिएपछि नयाँ पार्टीमा प्रवेश गर्छन्, तब उनीहरूको उद्देश्य परिवर्तनको राजनीति हो कि नयाँ अवसरको खोजी भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ। भ्रष्टाचार गर्न नपाएको अवस्था र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता एउटै कुरा होइन। सत्तामा नहुँदा स्वच्छ देखिनु सजिलो हुन्छ, तर वास्तविक परीक्षा जिम्मेवारी र अधिकार प्राप्त गरेपछि सुरु हुन्छ।
यही कारणले कुनै पनि नयाँ राजनीतिक दलका लागि सबैभन्दा ठूलो खतरा बाहिरका विरोधी होइनन्, भित्र प्रवेश गर्ने अवसरवादीहरू हुन सक्छन्। इतिहासले धेरै दलहरूलाई बाह्य आक्रमणले भन्दा आन्तरिक रूपमा प्रवेश गरेका स्वार्थ समूहहरूले कमजोर बनाएको देखाएको छ। यदि पुराना प्रवृत्ति र पुरानै सोच बोकेका व्यक्तिहरूले नयाँ पार्टीको नेतृत्व कब्जा गर्न थाले भने नयाँ दल पनि पुरानै राजनीतिक संस्कृतिको शिकार बन्न सक्छ।
जनताले रास्वपालाई पुराना दलहरूको विकल्पको रूपमा स्वीकार गरेका हुन्, पुराना दलका असन्तुष्ट नेताहरूको शरणस्थलको रूपमा होइन। त्यसैले पार्टीभित्र विचार, सिद्धान्त र कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता अझ बढेको छ। केवल कुन दलबाट आएको हो भन्ने आधारमा होइन, उसले नयाँ राजनीतिक संस्कृतिका लागि के योगदान दिएको छ भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ।
विशेषगरी आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणका विषयमा जनताले अपेक्षा गरेका परिणामहरू देखिन सकेका छन् कि छैनन् भन्ने प्रश्न उठ्नु स्वाभाविक छ। विगतमा भ्रष्टाचार नियन्त्रण, आर्थिक पारदर्शिता र संरचनात्मक सुधारका विषयमा गरिएका प्रतिबद्धताहरू कार्यान्वयनमा कति अघि बढे? भ्रष्टाचार नियन्त्रणको बहस केवल अनुसन्धान र कारबाहीमा सीमित रहने कि भ्रष्टाचार हुनै नसक्ने व्यवस्था निर्माण गर्ने दिशामा जाने? नगदमा आधारित अर्थतन्त्रलाई क्रमशः डिजिटल र पारदर्शी बनाउने, ठूला कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउने तथा भ्रष्टाचारका अवसरहरू कम गर्ने नीतिगत सुधारबारे पर्याप्त बहस र कार्यान्वयन किन देखिँदैन भन्ने प्रश्न उठिरहेको छ।
यदि परिवर्तनको नाममा पुरानै संस्कार र अवसरवादले पार्टीभित्र जरा गाड्न थाल्यो भने जनताको आशा निराशामा बदलिन धेरै समय लाग्दैन। त्यसैले बालेन्द्र शाहसहित पार्टी नेतृत्वले सबैभन्दा बढी सावधान हुनुपर्ने विषय बाहिरका आलोचक होइनन्, भित्र प्रवेश गरिरहेका अवसरवादी प्रवृत्तिहरू हुन्। नयाँ राजनीतिक शक्तिको सफलता पुराना अनुहारहरूको सङ्ख्याले होइन, नयाँ मूल्य, नयाँ संस्कृति र नतिजाले मापन हुनेछ।
यदि परिवर्तनको यात्रालाई जोगाउने हो भने, पार्टीले व्यक्तिभन्दा सिद्धान्त, पदभन्दा कार्यसम्पादन र लोकप्रिय नाराभन्दा संरचनात्मक सुधारलाई प्राथमिकता दिनुपर्छ। अन्यथा नयाँ बोतलमा पुरानै रक्सी राखिएको आरोपबाट बच्न गाह्रो हुनेछ।