१. ११ महिनामा बर्दियामा २२२ जना लागूऔषधसहित पक्राउ
बर्दियामा गत साउनदेखि जेठ ३० गतेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले लागूऔषध कारोबार तथा सेवनमा संलग्न २२२ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ महिला र ९ विदेशी नागरिक समेत रहेका छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी रेशम बोहोराका अनुसार ब्राउन सुगर, गाँजा, चरेस, अफिम, क्याप्सुल र कोरेक्स लगायतका पदार्थ बरामद गरिएको छ। भारतसँग जोडिएको ८३ किलोमिटर सीमाक्षेत्रका बढैयाताल, गुलरिया र मधुवन क्षेत्रमा लागूऔषध ओसारपसार बढी हुने गरेको उल्लेख गरिएको छ।
२. सिरहामा अनुदानको युरिया मलका १३ बोरा नियन्त्रण
सिरहामा किसानका लागि सरकारले उपलब्ध गराएको अनुदानको युरिया मल अनधिकृत रूपमा बिक्री भइरहेको सूचनापछि अनुगमन टोलीले १३ बोरा युरिया मल नियन्त्रणमा लिएको छ। किसानका लागि छुट्याइएको अनुदानको मल कालोबजारी गरेपछि सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको छ। डीएसपी यादवले जो सुकैले यस्तो गरेको भएपनि कानुनी कारबाही गर्ने बताएका छन्।
३. रौतहटमा ५५ किलो गाँजासहित दुई जना पक्राउ
रौतहटमा मोटरसाइकल प्रयोग गरी गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले गौर नगरपालिका–४ गढवा क्षेत्रबाट राकेश कुमार कुशवाहा र सुनिल कुमार बैठालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ५५ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा गाँजा र प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कानुनअनुसार अनुसन्धान भइरहेको छ।
४. ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौंमा भेटियो
ललितपुरबाट हराएको २२० सीसी पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर चलाइरहेका एक जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पक्राउ गरेको छ। चोरी भएको मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरी प्रयोग भइरहेको अवस्थामा फेला परेपछि मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइएको हो। बा.प्र.०२-०२१ प ७६९४ नम्बरको रातो र कालो रङको २२० सीसीको पल्सर नम्बर परिवर्तन गरी बा.प्र.०२-०१९ प ८५८७ नम्बर राखेर चलाइरहेको अवस्थामा भेट्टिएको थियो। घटनाबारे थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी वृत्तमा पठाइएको छ।
५. विभिन्न जिल्लामा लागूऔषधसहित ३१ जना पक्राउ
नेपाल प्रहरीले विभिन्न जिल्लामा सञ्चालन गरेको सुरक्षा तथा निगरानी अभियानका क्रममा ३१ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। बर्दिया र सुनसरीबाट पाँच/पाँच, झापा र ललितपुरबाट चार/चार, सिरहा र काठमाडौँबाट तीन/तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक/एक जना पक्राउ परेका छन्। उनीहरूको साथबाट गाँजा, ब्राउन हेरोइन र चिकित्सकको सिफारिसबिना प्रयोग गर्न नमिल्ने औषधि बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।
६. बिर्तामोडबाट ब्राउन हेरोइनसहित एक जना पक्राउ
झापाको बिर्तामोड क्षेत्रबाट प्रहरीले बिर्तामोड नगरपालिका-७ निवासी ३० वर्षीय विष्णु सिंह राजवंशीलाई ब्राउन हेरोइनसहित पक्राउ गरेको छ। शंकास्पद गतिविधिका आधारमा गरिएको जाँचका क्रममा उनको साथबाट लागूऔषध फेला परेको थियो। पक्राउ परेका व्यक्तिमाथि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
७. अवैध सम्पत्ति आर्जन मुद्दामा पूर्व अमिन यादव दोषी ठहर
वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा अमिनको रूपमा कार्यरत रहेका दिनेशप्रसाद यादवविरुद्धको अवैध सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ। अदालतले उनलाई करिब १ करोड २० लाख रुपैयाँ बराबरको जरिवाना र १ बर्ष कैद सजाय सुनाएको छ। वैधानिक आय स्रोतले नपुग्ने सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि फैसला गरिएको हो।
८. स्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जना पक्राउ
प्रहरीले स्रोत खुलाउन नसकिएको ८ लाख रुपैयाँसहित सिन्धुपाल्चोकका सविन तिमल्सिनालाई पक्राउ गरेको छ। नियमित जाँचका क्रममा फेला परेको उक्त रकमको वैधता पुष्टि गर्न नसकेपछि प्रहरीले रकम र व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
९. विभिन्न स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ
देशका विभिन्न स्थानमा प्रहरीले गरेको कारबाहीका क्रममा १३ जना लागूऔषधसहित पक्राउ परेका छन्। सिन्धुली र सुनसरीबाट तीन/तीन, रौतहटबाट दुई, मोरङ, नवलपरासी पूर्व, कैलाली, सिरहा र बाँकेबाट एक/एक जना पक्राउ परेका छन। पक्राउ परेकाहरूबाट ब्राउन हेरोइन, गाँजा तथा अन्य प्रतिबन्धित पदार्थ बरामद भएको छ। घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
१०. २१ किलो गाँजासहित एक जना पक्राउ
प्रहरीले धनगढीमाई नगरपालिका-१४ का उमेशकुमार मगरलाई २१ किलोग्राम गाँजासहित सुखीपुर बजारबाट पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको निगरानीका क्रममा गाँजा ओसारपसार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। बरामद गाँजासहित पक्राउ परेका व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
यी घटनाहरूमा लागूऔषध कारोबार, चोरी, कालोबजारी, अवैध सम्पत्ति, स्रोत नखुलेको नगद र अन्य आपराधिक गतिविधिहरू देखिएका छन्। यस्ता अपराध तथा भ्रष्टाचार सञ्चालन गर्न नगद अर्थतन्त्रले सहज वातावरण प्रदान गर्ने भएकाले आर्थिक कारोबारलाई पारदर्शी र अभिलेखीकरण गर्न आवश्यक देखिन्छ। हाल नगदलाई दुइ कामको लागि प्रयोग गरिन्छ: दैनिकी संचालन र अपराधको लागि। दैनिक उपभोगका सामग्री खरिदका लागि भने नगदको विकल्पका रूपमा डेबिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ तथा पीओएस प्रणाली प्रयोग गर्न सकिन्छ। त्यसैले सरकारले सबै पसलमा डेबिट कार्ड प्रणाली अनिवार्य गर्दै नोट खारेजीतर्फ क्रमिक रूपमा अघि बढेमा सामान्य दैनिक जीवन प्रभावित नहुने र अवैध नगदको प्रयोग, भ्रष्टाचार, ठगी तथा अपराध नियन्त्रणमा सहयोग पुग्नेछ।