| |

नगदले जोडेको दलालीको नेक्सस : इनम सापकोटा

हालै सार्वजनिक भएको बिचौलिया इनाम सापकोटा र मुलुकका उच्चपदस्थ अधिकारीहरूबीचको कुराकानी तथा मेसेज प्रकरणले नेपाली राज्यसंयन्त्रको डरलाग्दो चित्र सतहमा ल्याएको छ। न्यायालयका न्यायाधीश, कार्यपालिकाका शीर्ष तह र सुरक्षा निकायका उच्च अधिकारीहरूसम्म एउटा बिचौलियाको पहुँच हुनु सामान्य कुरा होइन। यो घटनाले नेपालमा न्याय, सुशासन र कानुनको शासन कसरी सेटिङ र गिरोहको मुट्ठीमा कैद भइरहेछ भन्ने कुरालाई स्पष्ट पारेको छ।

यो सम्पूर्ण अवाञ्छित सञ्जाल र दलालीको जगमा भारी मात्रामा अवैध नगद पैसाको ठूलो खेल भइरहेको छ। शक्तिको दुरुपयोग, मुद्दाको किनबेच, नियुक्ति र बढुवामा हुने सेटिङहरू सित्तैमा हुँदैनन्। यसका पछाडि अर्बौँ रूपैयाँको कालो धन, नगद लेनदेन र छाया अर्थतन्त्रको प्रत्यक्ष हात छ। जबसम्म मुलुकमा भौतिक नोटको प्रभुत्व र त्यसबाट सिर्जित कालो धनको समानान्तर सञ्जाल रहिरहन्छ, तबसम्म यस्ता बिचौलियाहरू जन्मिरहन्छन् र राज्यका अङ्गहरूलाई आफ्नो इसारामा नाचाइरहन्छन्।

यस्तो अवस्थामा नोट खारेजीको कदम अपराध र भ्रष्टाचार नियन्त्रणका लागि एक अचूक अस्त्र बन्न सक्थ्यो। तर, सरकार र सत्ताको नेतृत्वमा बसेकाहरू यस्ता क्रान्तिकारी आर्थिक सुधारका कदम चाल्न पूर्ण रूपमा असफल र अनिच्छुक देखिएका छन्। कारण स्पष्ट छ नोटको खारेजी गर्दा बिचौलिया र शक्ति केन्द्रहरूले लुकाएर राखेको, घूसबापत उठाएको र राज्यको ढुकुटी लुटेर थुपारेको कालो धन रातारात कागजको टुक्रामा परिणत हुन्छ। शक्तिमा बसेका शासकहरू र तिनका आसपास घुम्ने दलालहरू आफैँ यो नगद सञ्जालको हिस्सा भएकाले उनीहरू कहिल्यै पनि नोट खारेजीको पक्षमा उभिन सक्दैनन्।

कार्यपालिकाका प्रमुख प्रधानमन्त्रीदेखि लिएर राज्यका प्रमुख अङ्गहरूसम्म यस्ता बिचौलियाको पहुँच पुग्नु र न्यायिक प्रक्रियामा प्रभाव पार्ने प्रयास हुनुले लोकतन्त्रको हुर्मत लिएको छ। यो नागरिकप्रतिको ठूलो धोकेबाजी र घोर गैरजिम्मेवारी हो। जनता कर तिरेर राज्य चलाउने, तर शासकहरू बिचौलियाको इशारामा चल्ने यो कस्तो व्यवस्था हो? सरकारले सुशासनका ठूला गफ हाँके पनि व्यवहारमा भ्रष्टाचारको नाइके र बिचौलियाहरूलाई नै मलजल गरिरहेको छ।

आज देश कुन दिशामा जाँदैछ भन्ने प्रश्न गम्भीर बनेको छ। नागरिकले अदालतमा न्याय पाउने आशा मारिसकेका छन्, सरकारमाथि विश्वास समाप्त भइसकेको छ र राज्यका सबै अङ्गहरू चरम विकृतिको शिकार बनेका छन्। कालो धन, नगद कारोबार र बिचौलिया प्रणालीको यो नेक्ससलाई नतोडेसम्म देश कहिल्यै अगाडि बढ्न सक्दैन। नोट खारेजी जस्ता कडा नीतिगत प्रहार नगरेसम्म र अपराधीहरूलाई कठोर कारबाही नगरेसम्म नेपालको राजनीति र न्यायप्रणाली यस्तै बिचौलियाहरूको हातमा खेलौना बनिरहनेछ। सत्तामा बसेकाहरूले जनतालाई ढाँट्न छाडेर यो सञ्जालमाथि कठोर कदम नचालेमा नागरिक आक्रोशले उनीहरूलाई बढार्ने निश्चित छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ