१. काठमाडौंमा दुई स्थानमा लाखौँको चोरी
काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा चोरी हुँदा लाखौँ रुपैयाँ बराबरको धनमाल हराएको छ। बुढानिलकण्ठ नगरपालिका-१२ सिमलटारमा राम बहादुर विकको कोठाबाट र कागेश्वरी मनोहरा नगरपालिका-८ मा दिया आले मगरको कोठाबाट गरि ४ लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ। एक घटनामा घरमा कोही नभएको मौका पारेर सुन, नगद र अन्य सामग्री चोरी गरिएको प्रहरीले जनाएको छ। अर्को स्थानमा पनि ताल्चा फुटाएर धनमाल लगिएको घटनापछि अनुसन्धान सुरु गरिएको छ।
२. स्रोत नखुलेको ३ करोड २० लाख रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौंमा प्रहरीले स्रोत खुलाउन नसकिएको ३ करोड २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। गुडु कुमार यादव र रुपेश कुमार यादव भारतबाट नेपालतर्फ नगद ल्याउँदै गर्दा पक्राउ परेका हुन। बरामद रकमको उत्पत्ति र सम्भावित अवैध कारोबारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाले ठूलो परिमाणको नगद कारोबार अझै पनि निगरानीबाहिर रहेको देखाएको छ।
३. चोरीको सवारी प्रयोग गरेर चोरी गर्ने व्यक्ति पक्राउ
सर्लाहीको बागमती नगरपालिका–६ निवासी १८ वर्षीय जुमन मियाँलाई चोरी गरेको आरोपमा पक्राउ गरिएको छ। मियाँले चोरीका लागि मधेस प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी प्रयोग गरेर आएका थिए। अनुसन्धान पश्चात सो गाडी पनि पहिले नै चोरी गरेको खुलेको छ।
४. जग्गा विवादमा हत्या गरी २० वर्ष फरार रहेका अभियुक्त जेल चलान
जग्गा सम्बन्धी विवादमा हत्या आरोप लागेका २० वर्षअघि हत्या गरी फरार भएका श्यामबाबु प्रसाद चौरसिया पक्राउ परेका छन्। अदालतको आदेशअनुसार उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ। लामो समयसम्म कानुनी कारबाहीबाट बच्न सफल भएका उनी हाल सजाय भुक्तानका लागि जेल पठाइएका छन्।
५. जेन्जी आन्दोलनका बेला जेलबाट भागेका अभियुक्त चोरी मुद्दामा फेरि पक्राउ
जेन्जी आन्दोलनको समयमा जेलबाट फरार भएका डाँका चोरी मुद्दाका प्रतिवादी रुद्र मोक्तानलाई प्रहरीले धादिङको आदमघाटबाट ५ लाख ८० हजार ५४० रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ। उनि संगै थप दुइ अशोक तामाङ र उमेश तामाङलाई पनि पक्राउ गरिएको छ। उनीहरु मकवानपुरको कैलाश गाउँपालिका वडा नं. २ वैकुण्ठ बस्ने बुद्धराम मोक्तानको घरबाट ६ लाख रुपैयाँ नगद चोरी गरेको आरोपमा पक्राउ परेका हुन्।
६. उदयपुरमा १७ किलो गाँजासहित एक पक्राउ
उदयपुरमा प्रहरीले विशेष सूचनाका आधारमा १७ किलोग्राम गाँजासहित टारी-४ सिम्ले बस्ने ३० वर्षीय नरबहादुर पुलामी मगरलाई पक्राउ गरेको छ। बरामद गरिएको गाँजा सहित पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले गाँजाको ओसारपसार तथा स्रोतबारे पनि अनुसन्धान जारी राखेको जनाएको छ।
७. आकर्षक उपहारको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
आकर्षक उपहार तथा लटरी परेको भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर रकम असुल्ने सुवास राईलाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न व्यक्तिलाई फोन तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गरी रकम पठाउन लगाएर ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले पीडितको विवरण संकलन गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।
८. बहुविवाह मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
बहुविवाह मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका द्वारीका पोखरेललाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ। लामो समयदेखि लुकिछिपी बस्दै आएका उनलाई खोजतलासको क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउपछि अदालतको फैसला कार्यान्वयन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
९. सासू र बुहारी लागूऔषधसहित पक्राउ
प्रहरीले विशेष निगरानीका क्रममा सासू र बुहारीलाई लागूऔषधसहित पक्राउ गरेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीका ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो। लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१०. हेटौंडामा ब्राउन सुगरसहित तीन जना पक्राउ
हेटौंडामा प्रहरीले तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा १८ वर्षीय अशोक गुरुङ, ४६ वर्षीय रामजी बानियाँ र २४ वर्षीया अञ्जली तामाङ भन्ने क्रान्ती देवी घलान रहेका छन्। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरूको साथबाट लागूऔषध बरामद गरिएको हो। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
यी घटना, ठगी, लागूऔषध कारोबार तथा विभिन्न प्रकारका आर्थिक अपराधहरूमा नगद अर्थतन्त्रले सहज वातावरण प्रदान गरेको देखिन्छ। अपराध, भ्रष्टाचार र अवैध कारोबारका लागि नगद रकम प्रयोग गर्न सजिलो हुने भएकाले यस्ता गतिविधि लुकाउन पनि सहज हुन्छ। दैनिक उपभोगका सामान खरिद गर्न भने नगदको विकल्पका रूपमा डेबिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ र पीओएस प्रणाली प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ। त्यसैले सरकारले सबै पसलमा अनिवार्य डेबिट कार्ड तथा विद्युतीय भुक्तानी प्रणाली लागू गर्दै क्रमिक रूपमा नोट खारेजीको नीति अघि बढाए दैनिक जनजीवन प्रभावित नहुने र अपराध तथा अवैध कारोबार नियन्त्रणमा सहयोग पुग्न सक्छ।