|

नक्कली प्रमाणपत्र, हुण्डीदेखि मानबबेचबिखन सम्म; नोटको कारण बनेको आजको १० समाचारहरु

१. वैदेशिक रोजगारी विभागमा एकै दिन २९ उजुरी, ९ जना पक्राउ
वैदेशिक रोजगार विभागले मानव बेचबिखन तथा ठगीसम्बन्धी गतिविधिमाथि निगरानी बढाउने क्रममा एकै दिन २९ वटा नयाँ उजुरी दर्ता गरेको छ। विभागको टोलीले विभिन्न उजुरीका आधारमा ९ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। पीडितहरूबाट विदेश पठाइदिने भन्दै रकम उठाएर सम्पर्कविहीन भएको, सम्झौताविपरीत काममा पठाएको तथा झुटा आश्वासन दिएको जस्ता आरोपमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

२. जेनजी आन्दोलनको समय वन्यजन्तु मुद्दाका फरार अभियुक्त पक्राउ
जेनजी आन्दोलनको मौका पारेर फरार अभियुक्त टेक बहादुर तामाङलाई पुरानो वन्यजन्तु सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि फरार रहेका ती व्यक्तिलाई खोजतलासका क्रममा काठमाडौँको तारकेश्वरबाट नियन्त्रणमा लिएर सम्बन्धित कानुनी प्रक्रिया अगाडि बढाइएको छ। उनीमाथि वन्यजन्तु संरक्षण ऐनअन्तर्गतको कसुरमा कारागार चलाइएको थियो।

३. नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने बाल विकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा एक बाल विकास सहजकर्ताविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयमा कार्यरत बिना कुमारी राईबिरुद्द मुद्दा दायर गरिएको हो। अनुसन्धानबाट झुटा प्रमाणपत्रका आधारमा सरकारी सुविधा तथा तलबभत्ता लिएको पुष्टि भएपछि कानुनअनुसार सजाय र जरिवानाको माग गरिएको छ।

४. रौतहटमा एक महिनामा १४ करोड ३० लाख रुपैयाँभन्दा बढीका अवैध सामान बरामद
रौतहट प्रहरीले सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामानविरुद्ध अभियान सञ्चालन गर्दै एक महिनाको अवधिमा १४ करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध वस्तु नियन्त्रणमा लिएको जनाएको छ। बरामद सामग्री सम्बन्धित निकायमा बुझाइएको छ भने तस्करीमा संलग्न व्यक्तिहरूमाथि थप अनुसन्धान जारी छ। विशेष निगरानी तथा कारबाहीका क्रममा प्रहरीले तस्करीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरी तीनवटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिएको छ।

५. कालीमाटी र बल्खु क्षेत्रबाट ३५ बिचौलिया पक्राउ
काठमाडौंको कालीमाटी र बल्खु क्षेत्रमा सर्वसाधारणलाई दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने तथा विभिन्न सेवा तथा कारोबारमा अवाञ्छित हस्तक्षेप गर्ने ३५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ र सार्वजनिक हित विरुद्धको कसुरमा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

६. खुकुरी देखाएर महिलामाथि कुटपिट गरेको भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालमा आफूले एक महिलामाथि खुकुरी प्रहार तथा कुटपिट गरेको भिडियो सार्वजनिक गरेपछि प्रहरीले सम्बन्धित व्यक्तिलाई पक्राउ गरेको छ। दाङको तुलसीपुरमा युवतीलाई खुकुरी देखाएर कुटपिट गर्ने रमेश ठाडा मगरलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो। भिडियो भाइरल भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरी उनको खोजि गरेको थियो। घटनाको वास्तविकता तथा पीडितको अवस्थाबारे थप अनुसन्धान भइरहेको छ।

७. स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित भारतबाट आएका दुई जना पक्राउ
भारतबाट नेपाल प्रवेश गरेका दुई जनालाई स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका– ३ का २८ वर्षीय गुडुकुमार यादव र २४ वर्षीय रुपेशकुमार यादव रहेका छन्। उनीहरूबाट बरामद भएको रकमको वैध स्रोत पुष्टि हुन नसकेपछि आवश्यक अनुसन्धान सुरु गरिएको छ। प्रहरीले रकम कहाँबाट ल्याइएको र कसरी प्रयोग हुने थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ।

८. अखाद्य वस्तु बिक्री गरेको आरोपमा बेकरी र क्याफेलाई चार लाखभन्दा बढी जरिवाना
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा ‘दि बेकर ब्रदर्स’ लाई लेबल नलगाएको र ‘न्यु झिंगु काठमाडौं फुड्स क्याफे’ लाई म्याद नाघेका खाद्यवस्तु प्रयोग गरेको कारण चार लाख रुपैयाँभन्दा बढी जरिवाना गरिएको छ। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खाद्य पदार्थ बिक्री गरेको पुष्टि भएपछि सम्बन्धित व्यवसायीमाथि कारबाही गरिएको हो।

९. तनहुँ-२ मा १९ जना शंकास्पद व्यक्ति नियन्त्रणमा
सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत तनहुँ-२ क्षेत्रमा १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि लागुऔषध दुव्र्यसन, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन शंका भएकाले सोधपुछ तथा अनुसन्धान भइरहेको छ। प्रहरीले आवश्यक प्रमाण संकलन गरी थप कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ।

१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २७ महिला फर्काइए, अनुसन्धान सुरु

विदेश जाने तयारीमा रहेका २७ महिलालाई विमानस्थलबाट फर्काइएको छ। प्रारम्भिक अनुसन्धानमा ओमन लैजाने भन्दै ती महिलाहरूलाई भिजिट भिसामा कुवेत पठाउन लागिएको पाएपछि विमानस्थलबाट फर्काइएको हो। मानव बेचबिखन वा अवैध रूपमा विदेश पठाउने गिरोहको संलग्नता हुनसक्ने आशंकामा प्रहरी र सम्बन्धित निकायले अनुसन्धान सुरु गरेका छन्। उनीहरूलाई थप सोधपुछका लागि सम्बन्धित निकायको सम्पर्कमा राखिएको छ।

यी घटनाहरूले नेपालमा ठगी, तस्करी, भ्रष्टाचार, मानव बेचबिखन, अवैध कारोबार र स्रोत नखुलेको नगदको समस्या अझै गम्भीर रहेको देखाउँछन्। यस्ता अधिकांश अपराधमा नगद अर्थतन्त्रले सहज वातावरण प्रदान गर्ने गरेको छ, किनकि ठूलो रकम नगदमै लुकाउन, ओसारपसार गर्न, घुस दिन, तस्करी गर्न वा ठगीबाट प्राप्त रकम लुकाउन सजिलो हुन्छ। दैनिक उपभोगका लागि भने नगद अनिवार्य छैन, किनभने क्यूआर, मोबाइल बैंकिङ, डेबिट कार्ड र पीओएस प्रणालीमार्फत सामान खरिद तथा भुक्तानी सहज रूपमा गर्न सकिन्छ।

त्यसैले अपराध, भ्रष्टाचार र अवैध आर्थिक गतिविधिलाई नियन्त्रण गर्न सरकारले तुरुन्तै नोट खारेजीतर्फ चरणबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ। सबै पसल तथा सेवा केन्द्रमा अनिवार्य रूपमा डेबिट कार्ड, पीओएस मेसिन र डिजिटल भुक्तानी प्रणाली लागू गरिए दैनिक जीवन प्रभावित हुँदैन, तर नगदमा आधारित लुकिछिपी कारोबार, घुस, तस्करी र आर्थिक अपराध नियन्त्रण गर्न महत्त्वपूर्ण सहयोग पुग्न सक्छ। पारदर्शी कारोबार प्रणालीले राज्यको राजस्व वृद्धि, आर्थिक अनुशासन तथा सुशासन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनेछ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ