भारत जाने टिकट देखाएका एक यात्रु अन्ततः दुबई पुगेको घटनामा नेपाल एयरलाइन्सका कर्मचारी सुमित्रा चन्द र प्रवीण लामिछाने पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धान तथा विमानस्थलको सीसीटीभी परीक्षणबाट सम्बन्धित कर्मचारीहरूले दुईवटा फरक बोर्डिङ पास उपलब्ध गराई आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ बिना यात्रुलाई दुबई पठाउन सहयोग गरेको आशंका गरिएको छ। घटनापछि सम्बन्धित कर्मचारीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। यस घटनाले विमानस्थल सुरक्षा तथा आन्तरिक नियन्त्रण प्रणालीमाथि समेत प्रश्न उठाएको छ।
यस्ता मानव तस्करी वा अध्यागमनसम्बन्धी अनियमिततामा बिचौलिया तथा संलग्न व्यक्तिहरूबीच हुने आर्थिक लेनदेन प्रायः नगदमा हुने भएकाले त्यसको प्रमाण भेट्न कठिन हुन्छ। नगद अर्थतन्त्रले गोप्य रूपमा रकम आदानप्रदान गर्न सहज बनाउँछ र अपराधको सञ्जाललाई टिकाइराख्न मद्दत गर्छ। तर दैनिक जीवनका सामान्य कारोबारका लागि नोट अपरिहार्य छैन। बजार, होटल, यातायात तथा पसलहरूमा क्यूआर, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा पीओएस प्रणालीमार्फत सजिलै भुक्तानी गर्न सकिन्छ। त्यसैले नोटको प्रयोग मुख्यतः अवैध कारोबार लुकाउन उपयोगी हुने अवस्था घटाउन आवश्यक देखिन्छ।
यस परिस्थितिलाई ध्यानमा राख्दै सरकारले नोट खारेजीको नीति क्रमिक रूपमा लागू गर्नुपर्ने आवश्यकता देखिन्छ। डिजिटल भुक्तानीलाई प्रोत्साहन मात्र होइन, विभिन्न क्षेत्रमा अनिवार्य बनाउने, उच्च मूल्यका नगद कारोबारमा कडाइ गर्ने तथा सम्पूर्ण आर्थिक गतिविधिलाई पारदर्शी डिजिटल प्रणालीमा आबद्ध गर्ने नीति अपनाउनुपर्छ। यसबाट मानव तस्करी, अवैध अध्यागमन तथा संगठित अपराधसँग सम्बन्धित गोप्य आर्थिक कारोबार नियन्त्रण गर्न सहयोग पुग्न सक्छ।