काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतबाट भन्सार छली गरेर ल्याइएका तीनवटा चारपाङ्ग्रे सवारीसाधन बरामद गरेको छ। विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका-५ कुसुन्ती क्षेत्रमा छापा मार्दा निसान एक्स-ट्रेल, निसान सेफिरो र हुन्डाई क्रेटा गाडीसहित दुई जनालाई पक्राउ गरिएको हो। ती सवारीसाधन बिक्री वितरणको तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।
भन्सार छलीजस्ता आर्थिक अपराधहरूमा नगद अर्थतन्त्रले ठूलो भूमिका खेल्ने गरेको देखिन्छ। अवैध रूपमा आयात गरिएका वस्तु तथा सवारीसाधनको कारोबार प्रायः नगदमार्फत हुने भएकाले राज्यको निगरानी र कर प्रणालीबाट बच्न सजिलो हुन्छ। यदि सम्पूर्ण खरिद-बिक्री डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था भएमा पैसाको स्रोत र कारोबारको अभिलेख सुरक्षित रहन्छ। सामान्य नागरिकका लागि भने गाडी खरिददेखि दैनिक उपभोगका वस्तु किनमेलसम्म QR, POS तथा मोबाइल बैंकिङबाट सजिलै भुक्तानी गर्न सकिने भएकाले नगदको आवश्यकता क्रमशः घटाउन सकिन्छ।
यस कारण सरकारले नोट खारेजीतर्फ चरणबद्ध रूपमा अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ। सबै ठूला कारोबारलाई अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था, डिजिटल भुक्तानीको विस्तार तथा नगद प्रयोगमा सीमा निर्धारण गरेमा भन्सार छली, राजस्व चुहावट तथा कालोबजारी नियन्त्रण गर्न सहयोग पुग्न सक्छ।