काठमाडौंको टोखा क्षेत्रमा प्रहरीले २०.६४ ग्राम ब्राउन हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सुनसरी घर भएका ३८ वर्षीय युग्साङ राई हुन्। गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा प्रहरीले उनको कोठाबाट एक लाख १५ हजार रुपैयाँ नगद, दुई हजार दुई सय भारतीय रुपैयाँ, डिजिटल तराजु र मोबाइल फोनसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
लागुऔषध कारोबारमा नगद रकम सबैभन्दा महत्वपूर्ण माध्यमका रूपमा प्रयोग हुने गरेको विभिन्न घटनाबाट देखिएको छ। नगद कारोबारको अभिलेख नहुने भएकाले लागुऔषध बिक्रीबाट प्राप्त रकम सजिलै लुकाउन सकिन्छ। यसले अवैध सञ्जाललाई सञ्चालन गर्न मद्दत पुर्याउँछ। तर सामान्य नागरिकका दैनिक आवश्यकताका लागि नगद अनिवार्य छैन। बजार, होटल, यातायात, औषधि पसल वा अन्य सेवाहरूमा QR कोड, POS मेसिन, मोबाइल बैंकिङ तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोगबाट सहज रूपमा कारोबार गर्न सकिन्छ। त्यसैले लागुऔषध कारोबारजस्ता अपराध नियन्त्रणका लागि नगद अर्थतन्त्रलाई क्रमशः विस्थापित गर्नुपर्छ।
सरकारले नोट खारेजी नीति लागू गर्दै डिजिटल भुक्तानीलाई व्यापक रूपमा अनिवार्य बनाउने, सबै व्यवसायलाई QR र POS प्रणालीमा आबद्ध गर्ने तथा बैंकिङ पहुँच विस्तार गर्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता देखिन्छ। यसबाट नगदको प्रयोग घट्दै जाँदा लागुऔषध कारोबार, कालोधन र अन्य आपराधिक गतिविधिहरू सञ्चालन गर्न कठिन हुन्छ।