रौतहटको नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ९० लाख रुपैयाँभन्दा बढी मूल्यको फर्सीको बीउ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले लुकाइराखिएको १२ हजार ८८० किलो फर्सीको बीउ फेला पारेको थियो। घटनास्थलमा पुगेपछि केही स्थानीयले अवरोध गरेपछि ढुंगामुढा भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो। झडपका क्रममा केही स्थानीय र प्रहरी सामान्य घाइते भएका छन्। बरामद गरिएको बीउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ।
यस प्रकारको अवैध निकासी र तस्करीमा पनि नगद अर्थतन्त्रले महत्वपूर्ण भूमिका खेल्ने गरेको मानिन्छ। सीमापार हुने अवैध कारोबारमा रकमको हिसाबकिताब बैंकिङ प्रणालीभन्दा बाहिर नगदमै हुने भएकाले वास्तविक कारोबारी र लाभग्राही पत्ता लगाउन कठिन हुन्छ। नगदको प्रयोगले कर छली, तस्करी तथा कालोबजारीलाई समेत प्रोत्साहन दिन सक्छ। जबकि सर्वसाधारणले दैनिक उपभोगका सामग्री खरिद, सेवा भुक्तानी तथा सामान्य कारोबारका लागि क्यूआर कोड, मोबाइल बैंकिङ, पीओएस मेसिन र डेबिट कार्डमार्फत सहज रूपमा कारोबार गर्न सक्छन्। त्यसैले तस्करी नियन्त्रणका लागि नोट खारेजीको आवश्यकता रहेको छ।
यस अवस्थालाई मध्यनजर गर्दै सरकारले चरणबद्ध रूपमा नोट खारेजी लागू गरी सम्पूर्ण आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा आधारित बनाउन आवश्यक देखिन्छ। सीमावर्ती क्षेत्रदेखि स्थानीय बजारसम्म डिजिटल भुक्तानीलाई अनिवार्य बनाउने, ठूलो रकमको कारोबार बैंकिङ प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था गर्ने तथा नगदको प्रयोग घटाउने नीति अवलम्बन गरिनुपर्छ। यसले तस्करी, राजस्व चुहावट र अवैध आर्थिक गतिविधि नियन्त्रणमा सहयोग पुर्याउन सक्छ।