स्रोत नखुलेको रकम देखि चोरी सम्म; नोट सम्बन्धि आजको १० समाचारहरु

१. विदेश पठाइदिने भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ
न्युजिल्यान्ड पठाइदिने प्रलोभन देखाएर एक नेपालीबाट करिब १० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले भारतीय नागरिक ४२ वर्षीय संजय कुमारलाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीका नाममा रकम लिएपछि सम्पर्कविहीन भएका उनलाई काठमाडौंबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

२. ८८१ थान भेप र ६ लाख नगदसहित ५ जना पक्राउ
प्रहरीले कागेश्वर मनोहरा नगरपालिकाबाट प्रहरीले भेप त नगद सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आदेश खड्का, सौजन सिम्खडा, चिनियाँ नागरिक लिउ वेट, आकाश तामाङ र अर्जुन तामाङ रहेका छन् ।

३. काठमाडौंबाट ३९ लाख रुपैयाँसहित युवक पक्राउ
काठमाडौंको जाम्बुडाँडाबाट स्रोत नखुलेको ३९ लाख रुपैयाँ नगदसहित २३ वर्षीय मनमोहन साह कलवार पक्राउ परेका छन्। शंकास्पद अवस्थामा फेला परेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिई रकमसहित थप अनुसन्धान अघि बढाएको जनाएको छ।

४. विमानस्थलबाट ८१ लाख रुपैयाँ बराबरको सुन-चाँदीका गरगहना बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कपडाको कार्गोभित्र लुकाएर ल्याइएको करिब ८१ लाख रुपैयाँ बराबरको सुन र चाँदीका गरगहना बरामद गरेको छ। उक्त सामानसहित दुई जनालाई पक्राउ गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

५. जेलबाट फरार ‘फुच्चे’ पक्राउ
२५ करोड लिएर चाइना जाने क्रममा पक्राउ परि कारागार चलन भई फरार भएका ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पक्राउ परेका छन्। पक्राउ परेका उनलाई सुन्धारास्थित केन्द्रीय कारागार पठाइएको छ ।

६. ठमेलमा अश्लील गतिविधिको आरोपमा ५ विदेशी महिला पक्राउ
काठमाडौंको ठमेल क्षेत्रमा अश्लील गतिविधिमा संलग्न रहेको आरोपमा चार युगाण्डाकी र एक इन्डोनेसियाली गरी पाँच विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई सडकमै रोक्दै यौनजन्य प्रस्ताव राखेर सार्वजनिक असुविधा सिर्जना गरेको आरोप लगाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

७. सुनको सिक्री चोरी गर्ने गिरोहका ४ जना पक्राउ
रुपन्देहीमा सुनको सिक्री चोरी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन भारतीय नागरिक र एक नेपालीसहित चार जना रहेका छन्। उनीहरूको साथबाट २२.२२ ग्राम र ९ ग्राम तौलका दुई वटा सुनका सिक्री तथा चोरीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

८. घरमा सुतिरहेका परिवारको सुन र नगद चोरी
तनहुँको व्यास नगरपालिकामा घरधनी परिवार घरमै सुतिरहेको अवस्थामा अज्ञात समूहले घरभित्र प्रवेश गरी सुनका गरगहना र नगद चोरी गरेको छ। यसका साथै कोठामा बस्ने र छरछिमेकको पनि ठुलो मात्रामा सुन र नगद चोरी भएको छ। घटनापछि प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान अघि बढाएको जनाएको छ।

९. धनकुटामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
धनकुटाको भेडेटार चोकमा सवारी चेकजाँचका क्रममा भोजपुरबाट धरानतर्फ जाँदै गरेको ईभी गाडीबाट ३७ केजी ६ सय १० ग्राम गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीय लोकबहादुर राई र ३१ वर्षीया बिनिता कार्की रहेका छन्। बरामद लागूऔषधसहित पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

१०. अवैध उत्खनन रोक्न खोज्दा सरकारी कर्मचारीमाथि आक्रमण
चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि अवैध उत्खननमा संलग्न समूहले कार्यकक्षमै प्रवेश गरी सामूहिक आक्रमण गरेको छ। घटनापछि भाग्दै गरेका दुई जनालाई धादिङको गजुरीबाट पक्राउ गरिएको छ भने अन्य संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मापदण्डविपरीत नदी उत्खनन रोक्न खोज्दा उत्पन्न विवादकै कारण आक्रमण भएको हो।

यी सबै घटनाले ठगी, चोरी, तस्करी, स्रोत नखुलेको नगद, लागूऔषध कारोबार, अवैध उत्खनन, फरार अपराधी तथा अन्य संगठित अपराधमा नगद अर्थतन्त्रले अपराधीलाई सहज वातावरण दिएको प्रश्न उठाउँछन्। अपराधबाट प्राप्त रकम लुकाउन, स्रोत नखुलेको नगद राख्न, घुस दिन, चोरीको सम्पत्ति खरिद–बिक्री गर्न, तस्करीको कारोबार मिलाउन तथा अवैध आर्थिक गतिविधि सञ्चालन गर्न नगद सबैभन्दा उपयोगी माध्यम बन्ने गरेको देखिन्छ। जब ठूलो परिमाणको रकम कुनै डिजिटल अभिलेखबिना हातहातै कारोबार गर्न सकिन्छ, त्यस्ता अपराधको अनुसन्धान र आर्थिक गतिविधिको वास्तविक स्रोत पहिचान गर्न पनि कठिन हुन्छ।

दैनिक जीवनका आवश्यक वस्तु खरिद गर्न भने नगद अनिवार्य छैन। डेबिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ, डिजिटल वालेट तथा अन्य विद्युतीय भुक्तानी प्रणालीबाट सहज रूपमा दैनिक कारोबार गर्न सकिन्छ। त्यसैले सर्वसाधारणको दैनिक जीवनमा कुनै असर नपर्ने गरी सरकारले प्रत्येक पसलमा अनिवार्य डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली लागू गर्दै क्रमिक रूपमा नोट खारेजीको नीति अघि बढाउने विषयमा गम्भीर बहस आवश्यक देखिन्छ। यस्तो व्यवस्थाले वैध आर्थिक कारोबारलाई थप पारदर्शी बनाउन, नगदमा आधारित अवैध कारोबारलाई निरुत्साहित गर्न तथा ठगी, भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चोरी र अन्य संगठित अपराध नियन्त्रणमा सहयोग पुग्न सक्ने देखिन्छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ