१. स्नुकर हाउसको आवरणमा लागूऔषध कारोबार, तीन जना पक्राउ
काठमाडौंको एक स्नुकर हाउसलाई आवरण बनाएर लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ‘सोनम स्नुकर हाउस’ का सञ्चालक ३७ वर्षीय गोबिन्द थापा, उनका दाजु ३८ वर्षीय रुम बहादुर थापा र सोही स्नुकर हाउसमा कार्यरत कामदार ३२ वर्षीय सुरज सुनार रहेका छन्। उनीहरूको साथबाट ११२.५३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
२. वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ
आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा वाङ्दी लामा, ललित बहादुर तामाङ, सन्तोषी लामा, रामदास महर्जन र सरिब गिरी रहेका छन्। उनीहरूले अजरबैजान, कोसोभो, स्पेन, युएई र क्यानडा पठाइदिन्छु भन्दै पीडितहरूसँग लाखौं रुपैयाँ ठगी गरेका थिए।
३. जेनजी आन्दोलनका बेला केन्द्रीय कारागारबाट फरार कैदी सर्लाहीबाट पक्राउ
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योन्जन (रमन) रहेका छन् ।फरार भएपछि लुकीछिपी बस्दै आएका उनलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिई पुनः कारागार पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
४. मोटरसाइकलसहित ११ लाखभन्दा बढीका अवैध सामान बरामद
सिरहाको सीमावर्ती क्षेत्रमा प्रहरीले करिब ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। भन्सार छलेर भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो।
५. नख्खु कारागारबाट फरार कैदी उदयपुरबाट पक्राउ
ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका २३ वर्ष कैद सजाय तोकिएका एक कैदीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ। फरार भएपछि विभिन्न स्थानमा लुकेर बसेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई थप कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित निकायको जिम्मा लगाइएको छ।
६. अनुदानको मल कालोबजारी गरेको आरोपमा सहकारी सचिव पक्राउ
सरकारी अनुदानमा उपलब्ध हुने रासायनिक मल कालोबजारी गरेको आरोपमा एक सहकारीका सचिवलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका-१ स्थित नव प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडका सचिव ४४ वर्षीय प्रेमनारायण पाण्डे रहेका छन्। किसानका लागि वितरण गर्नुपर्ने मल अनधिकृत रूपमा बिक्री गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
७. दुईवटा नागरिकता बनाएको आरोपमा धनकुटाका एक व्यक्ति पक्राउ
धनकुटामा फरक–फरक विवरण पेश गरी दुईवटा नेपाली नागरिकता बनाएको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ मुर्तिढुंगाका ४३ वर्षीय दोर्णराज काफ्ले रहेका छन्। जिल्ला प्रशासन कार्यालयको अभिलेख र अनुसन्धानका क्रममा दोहोरो नागरिकता लिएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिई नागरिकता सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
८. राजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुर सहित नगरपालिकाका तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रअ विजयकान्त मिश्र र लेखापाल शेख जहिर बिरुद्द मुद्दा दायर गरिएको हो। गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
९. सिराहामा भारतीय लागूऔषध कारोबारी प्रहरीको गोली लागेर पक्राउ
भारतसँग सीमा जोडिएको सिराहाको नवराजपुर क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनापछि पुगेको प्रहरी टोलीमाथि प्रतिरोध भएपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर भारतको बिहार, मधुबनीका करिब २४ वर्षीय अब्दुल कलाम पक्राउ परेका छन् भने उनको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
१०. चकलेटको प्याकेटमा गाँजा लुकाएर थाइल्यान्डबाट तस्करी गर्ने भारतीय पक्राउ
चकलेटको प्याकेटभित्र गाँजा लुकाई थाइल्यान्डबाट नेपाल ल्याएको आरोपमा एक भारतीय नागरिकलाई लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको कोलकाता घर भएका ५७ वर्षीय हरि क्षेत्री रहेका छन्, जसको साथबाट २ किलो ८०० ग्राम गाँजा बरामद भएको छ। विमानस्थलमा शंकास्पद गतिविधिका आधारमा निगरानी गरी पक्राउ गरिएको ती व्यक्तिबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यी सबै घटनाले लागूऔषध कारोबार, ठगी, भ्रष्टाचार, तस्करी, कालोबजारी, नागरिकता दुरुपयोग तथा फरार अपराधीका गतिविधिमा नगद अर्थतन्त्रले अपराधीलाई सहज वातावरण दिएको होकी भन्ने प्रश्न उठाउँछन्। यस्ता अपराधमा नगद प्रयोग हुँदा अवैध रकम संकलन, ओसारपसार, लुकाउने, घुस लेनदेन गर्ने तथा अपराधबाट प्राप्त सम्पत्तिको स्रोत लुकाउन सजिलो हुने भएकाले अपराध नियन्त्रण थप चुनौतीपूर्ण बन्न सक्छ। दैनिक उपभोगका सामान खरिदका लागि भने नगद अनिवार्य छैन; डेबिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ तथा अन्य विद्युतीय भुक्तानी प्रणालीबाट सहज रूपमा कारोबार गर्न सकिन्छ। त्यसैले सर्वसाधारणको दैनिक जीवन प्रभावित नहुने गरी सरकारले प्रत्येक पसलमा अनिवार्य डेबिट कार्ड, क्यूआर तथा डिजिटल भुक्तानी प्रणाली लागू गर्दै क्रमिक रूपमा नोट खारेजीको नीति अघि बढाएमा नगदमा आधारित अवैध कारोबार घटाउन, आर्थिक कारोबारलाई थप पारदर्शी बनाउन तथा अपराध र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्न सक्ने देखिन्छ।