|

लागूऔषध ओसारपसार देखि आइफोन तस्करीसम्म; नोट सम्बन्धि आजको १० समाचारहरु

१. ब्राउन सुगरसहित दुई जना पक्राउ
कोशी प्रदेश प्रहरीले दुई जनालाई चार ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने बेवारिसे अवस्थामा १२० किलो गाँजा बरामद गरेको छ। पक्राउ पर्नेमा २६ वर्षीय विवेक राई र २५ वर्षीय निशान कार्की रहेका छन्।

२. १० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागूऔषधसहित पक्राउ
लागूऔषध मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिसकेका एक व्यक्ति पुनः लागूऔषधसहित पक्राउ परेका छन्। ४२ वर्षीय विष्णु धामी, ३६ वर्षीय रुद्रबहादुर सुवेदी र ४८ वर्षीय विजयराज धामीलाई २७१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो। उनीमाथि लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

३. भारत तस्करी गर्न लागिएको ४ केजी अफिमसहित दुई पक्राउ
नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ४ केजी अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका-४ घर भएका ५४ वर्षीय राज कुमार लामा र हेटौँडा उपमहानगरपालिका-१५ घर भएका ४० वर्षीय राज कुमार तितुङ छन्। प्रहरीले अफिम बरामद गरी तस्करीमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

४. १ करोड ४३ लाख रुपैयाँ बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख रुपैयाँ बिगो कायम भएको प्रकरणका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतबाट बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका उनलाई काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

५. एकान्तकुना यातायात कार्यालयबाट तीन बिचौलिया पक्राउ
ललितपुरको यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट सेवाग्राहीसँग रकम असुल्ने कार्यमा संलग्न अर्जुन रसाइली, महेश सुवेदी र सुदीप माझीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद ४५ हजार ५ सय रुपैयाँ, तीन वटा गाडीको बिलबुक र सवारी चालक अनुमतिपत्र बरामद भएको प्रहरीले जनाएको छ। उनीहरूमाथि जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

६. काठमाडौं र चितवनबाट जुवा खेल्दै २१ जना पक्राउ
काठमाडौंको सोल्टीमोड र चितवनको भरतपुर–१० पुलचोकबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट १० जनासँग २ लाख २३ हजार ५ रुपैयाँ तथा चितवनबाट ११ जनासँग ८० हजार ४६५ रुपैयाँ र तास बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

७. दुई किलो चरेससहित दुई जना पक्राउ
कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट दुई किलो २०५ ग्राम चरेससहित डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का ४५ वर्षीय शंकरकुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का ५२ वर्षीय मिनराज भट्ट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

८. भारतीय मोटरसाइकलमा आईफोन तस्करी
रुपन्देहीको कोटहीमाई गाउँपालिकाबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको साढे २० लाख रुपैयाँ बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर २ बस्ने ३६ वर्षीय पवन कुमार मुराव रहेका छन्।

९. ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
प्रहरीले करिब ७ सय ७५ किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा लिँदै चालकलाई पक्राउ गरेको छ। सुनसरी इटहरी उपमहानगरपालिका–१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा ट्रकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो। चालकमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

१०. विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ
नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा लागूऔषधसहित २५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट गाँजा, ब्राउन सुगर, ट्रामाडोललगायत विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। सबै घटनामा सम्बन्धित प्रहरी कार्यालयहरूले कानुनी कारबाही तथा थप अनुसन्धान अघि बढाइरहेका छन्।

माथिका सबै घटनाले लागूऔषध कारोबार, तस्करी, ठगी, बैंकिङ कसुर, जुवा, अवैध असुली तथा अन्य संगठित अपराधमा नगद अर्थतन्त्रले अपराधीलाई सहज वातावरण दिएको देखिन्छ। लागूऔषधको खरिद-बिक्री, तस्करी, घुस, अवैध रकम असुली, जुवा तथा अपराधबाट प्राप्त रकम लुकाउन नगद सबैभन्दा बढी प्रयोग हुने माध्यम भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न केवल पक्राउ अभियान मात्र पर्याप्त नहुन सक्छ। दैनिक उपभोगका सामान खरिदका लागि भने नगद अनिवार्य छैन; डेबिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ तथा अन्य विद्युतीय भुक्तानी प्रणालीबाट सहज रूपमा कारोबार गर्न सकिन्छ। त्यसैले सरकारले प्रत्येक पसलमा अनिवार्य डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली लागू गर्दै क्रमिक रूपमा नोट खारेजीको नीति अघि बढाएमा सर्वसाधारणको दैनिक जीवनमा असर नपरी वैध आर्थिक कारोबारलाई थप पारदर्शी बनाउन, नगदमा आधारित अवैध कारोबार नियन्त्रण गर्न तथा अपराध, भ्रष्टाचार र संगठित आपराधिक गतिविधि न्यूनीकरण गर्न सहयोग पुग्न सक्ने देखिन्छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ