१. सुन्धारा कारागारबाट फरार कैदी पुनः पक्राउ
केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका चितवनका ४६ वर्षीय प्रभु राम राई काठमाडौंको शङ्खपार्कबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका राई जेनजी आन्दोलनको समयमा कारागारबाट फरार भएका थिए। पक्राउपछि उनलाई पुनः सुन्धारा कारागार पठाइएको प्रहरीले जनाएको छ।
२. कोशी नदी किनारबाट १६८ किलो गाँजा बरामद
सुनसरी र उदयपुरको सीमाक्षेत्र नजिक कोशी नदी किनारमा बेवारिसे अवस्थामा राखिएको १६८ किलो गाँजा प्रहरीले बरामद गरेको छ। गस्तीका क्रममा प्रहरीले ठूलो परिमाणमा लुकाइराखिएको गाँजा फेला पारेको हो। गाँजा कसले ल्याएको वा ओसारपसारमा संलग्न व्यक्ति को हुन् भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
३. उदयपुरमा लागुऔषधसहित तीन जना पक्राउ
उदयपुरमा प्रहरीले लागुऔषधसहित तीन जना ३४ वर्षीय कृष्ण तामाङ, २६ वर्षीय जालकुमार राई र ३० वर्षीय नेत्रमान राईलाई पक्राउ गरेको छ। नियमित सुरक्षा निगरानीका क्रममा पक्राउ परेकाहरूबाट प्रतिबन्धित लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
४. एपीएफ स्कूल मुख्यालयमा आर्थिक अनियमितताको छानबिन सुरु
सशस्त्र प्रहरी बलको स्कूल मुख्यालयमा आर्थिक अनियमितता भएको आरोपपछि सम्बन्धित निकायले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। विद्यालयको रकम व्यक्तिगत खातामा राखेर ४ वर्षदेखि साढे ४ करोड रुपैयाँ दुरुपयोग गरेको गुनासो आएपछि त्यसबारे आवश्यक कागजात संकलन र छानबिन सुरु गरिएको हो। अनुसन्धानले खर्च व्यवस्थापन तथा आर्थिक अनुशासनसम्बन्धी विषयहरूमा विस्तृत परीक्षण गर्ने जनाइएको छ।
५. सिन्धुपाल्चोकमा अबैध भेप सहित एक जना पक्राउ
सिन्धुपाल्चोकबाट प्रहरीले ७ हजार ७०० वटा अवैध भेपसहित एकजनालाई नियन्त्रणमा लिएको छ। यसको अनुमानित मूल्य २ करोड ६९ लाख ५० हजार रहेको छ। पक्राऊ पर्नेमा जुगल गाउँपालिका-४ का ३६ वर्षीय रामुकुमार श्रेष्ठ रहेका छन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि पठाइएको छ।
६. लागुऔषध सेवन गरेर सवारी चलाएको आरोपमा १० जना पक्राउ
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी, लागूऔषध नियन्त्रण ब्यूरो र नेपाल प्रहरी अस्पतालको संयुक्त टोलीले विशेष जाँच अभियान सञ्चालन गर्दा लागूऔषध सेवन गरी सवारी चलाइरहेका १० जनालाई पक्राउ गरेको छ। उनीहरूलाई परीक्षणपछि नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ। यात्रु र सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम उत्पन्न गरेको भन्दै प्रहरीले यस्ता जाँचलाई निरन्तरता दिने जनाएको छ।
७. ई-पासपोर्ट प्रकरणमा आरजु राणामाथि छुट्टै अनुसन्धान
गत वर्षको ई-पासपोर्ट खरिद प्रक्रियामा भएको अनियमितताको अनुसन्धानको दायरा विस्तार गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अनुसन्धानको दायरामा ल्याएको छ। अनुसन्धान टोलीले बुढानीलकण्ठस्थित निवासमा पुगेर बयानका लागि उपस्थित हुन म्याद तामेल दिएको थियो। राहदानी खरिद प्रक्रियासँग सम्बन्धित निर्णय र प्रक्रियाबारे छुट्टै अनुसन्धान अघि बढाइएको स्रोतहरूले बताएका छन्।
८. भैंसेपाटीस्थित विष्णु पौडेल निवासमा खानतलासीपछि पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा खानतलासी गरेको थियो। अनुसन्धानका लागि आवश्यक कागजात तथा प्रमाण संकलन गरी उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आरोपबारे विभागले विस्तृत अनुसन्धान अघि बढाएको छ।
९. विदेश पठाइदिने भन्दै टर्की र बेलायतको प्रलोभनमा ठगी, दुई जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले टर्की र बेलायत पठाइदिने भन्दै ठगि गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीले दिएको जानकारी अनुसार उनीहरुले विदेश पठाइदिने प्रलोभनमा पीडितबाट करिब ४ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि दुवै सम्पर्कविहीन बनेका थिए। पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
१०. वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ट्रकबाट १ लाख २० हजारभन्दा बढी ट्रामाडोल बरामद
पर्साको वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशंकामा ट्रक नियन्त्रणमा लिई बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको थियो। ट्रकको जाँचका क्रममा १ लाख २० हजार ६२० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
यी घटनाहरूले नेपालमा अपराध, लागूऔषध कारोबार, ठगी, तस्करी, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा अन्य गैरकानुनी गतिविधिमा नगदमा आधारित अर्थतन्त्रले सहज वातावरण प्रदान गरिरहेको तथ्यलाई पुनः उजागर गरेका छन्। ठूलो परिमाणमा नगदको प्रयोग हुँदा कारोबार लुकाउन, स्रोत नखुल्ने गरी रकम परिचालन गर्न, अवैध आम्दानी व्यवस्थापन गर्न तथा आपराधिक सञ्जाल सञ्चालन गर्न सजिलो हुने भएकाले यस्ता गतिविधि नियन्त्रणका लागि नोट खारेजीको आवश्यकता रहेको देखिन्छ। दैनिक उपभोगका सामान खरिद तथा सामान्य कारोबारका लागि भने नगद अनिवार्य नभएकाले क्यूआर कोड, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा पीओएस प्रणालीमार्फत सहज रूपमा भुक्तानी गर्न सकिन्छ। त्यसैले सरकारले सबै पसल तथा व्यवसायमा विद्युतीय भुक्तानी र डेबिट कार्ड प्रणाली अनिवार्य बनाउँदै क्रमशः नोट खारेजीको नीति अघि बढाउन आवश्यक देखिन्छ। यसबाट सर्वसाधारणको दैनिक जीवन प्रभावित नगरी आर्थिक कारोबारलाई पारदर्शी बनाउन, वित्तीय निगरानी सुदृढ गर्न तथा अपराध, भ्रष्टाचार, कालोधन र अवैध आर्थिक गतिविधिलाई निरुत्साहित गर्न महत्त्वपूर्ण सहयोग पुग्न सक्छ।