१. कैलालीका विभिन्न स्थानबाट खैरो हेरोइनसहित ८ जना पक्राउ
कैलालीका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ८ जना व्यक्तिलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ। धनगढी, लम्कीचुहा, घोडाघोडी लगायतका क्षेत्रमा गरिएको चेकजाँचका क्रममा विभिन्न परिमाणको खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
२. कोटेश्वरबाट १० दलाल पक्राउ
काठमाडौंको कोटेश्वर क्षेत्रमा यात्रुसँग बढी भाडा असुल्ने, टिकट व्यवस्थापनमा अनियमितता गर्ने तथा यात्रुलाई विभिन्न बहानामा ठगी गर्ने गतिविधिमा संलग्न १० जना दलाललाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक यातायात सञ्चालन हुने क्षेत्रमा सक्रिय दलालहरूको निगरानीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
३. कोटेश्वर–जडीबुटीमा यात्रुको झोला लुट्ने काउन्टर कर्मचारी र चालक पक्राउ
कोटेश्वर र जडीबुटी क्षेत्रमा यात्रुलाई तानातान गर्ने, बसमा चढाउने क्रममा झोला तथा सामान लुट्ने कार्यमा संलग्न काउन्टर कर्मचारी र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ। यात्रुको गुनासो तथा निगरानीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सार्वजनिक यातायात क्षेत्रमै यात्रुमाथि हुने यस्तो लुटपाटले यात्रुको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
४.बैंकिङ कसुरमा ४५ लाख बिगो भएका प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय सुनाइएपछि फरार रहेका तनहुँ भानु नगरपालिका–८ घर भई काठमाडौं बसुन्धारामा बस्दै आएका ४३ वर्षीय रामचन्द्र अधिकारीलाई प्रहरीले काठमाडौंको बालाजुबाट पक्राउ गरेको छ। ४५ लाख रुपैयाँ बिगो भएको उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८२ साउन ११ गते उनलाई १ महिना १५ दिन कैद र २ लाख २५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
५. ठमेलमा ७ विदेशी नागरिक पक्राउ
काठमाडौंको ठमेल क्षेत्रमा पर्यटक भिसामा नेपाल बसेर शंकास्पद तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले भिसाको उद्देश्य विपरीत गतिविधि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ र उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको छ।
६. बैंकिङ कसुरका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका सविता कार्कीलाई पक्राउ गरेको छ। उनले चारित्रक विल्डर्स प्रालि खोली बनावटी कागजात तयार पारी हाउजिङ तथा निर्माण कार्य भनि कृतिम व्यसाय परियोजना खडा गरी क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्सबाट कर्जा लिएको आरोप छ। अदालतले उनलाई ८ करोड ५० लाख जरिवाना र तीन वर्ष कैदको फैसला थियो। फरार रहेकै अवस्थामा १३ वर्षपछि उनी पक्राउ परेका हुन्।
७. वैदेशिक रोजगारी ठगीमा ७ पक्राउ
विभिन्न देशमा रोजगारी दिलाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। । यसैबीच वैदेशिक रोजगार विभागमा एकै दिन २६ नयाँ ठगी उजुरी समेत दर्ता भएका छन्।
८. लागूऔषध सेवन गरेर सवारी चलाउने ५ चालक पक्राउ
बागलुङले लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक र १ सह-चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा गणेश शर्मा, ढाकाराम तिवारी, शंकर शर्मा, विशाल किसान, सुनिल सार्की र अविनास सार्की (सह–चालक) रहेका छन्। उनीहरूलाई थप कारबाहीका लागि प्रहरी नियन्त्रणमा राखिएको छ।
९. ठगी आरोपमा तीन जना पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै रु २३ लाख ६५ हजार ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–१ का ५० वर्षीय युवकराज पराजुली, जिल्ला दोलखा जिरी नगरपालिका–३ का ३४ वर्षीय टङ्कबहादुर खड्का तथा सुनसरी धरान उपमहानगरपालिका–६ का ३४ वर्षीय मनिष पोदार रहेका छन्। उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
१०. लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
लागूऔषधसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका दुई प्रतिवादी ज्ञानेन्द्र खड्का र खडानन्द प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिलाई सम्बन्धित अदालतमा उपस्थित गराई बाँकी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यी सबै घटना हेर्दा ठगी, बैंकिङ कसुर, लागूऔषध कारोबार, अवैध गतिविधि, फरारी अपराधी तथा वैदेशिक रोजगार ठगीजस्ता अपराधको मूल आधार नगद अर्थतन्त्र रहेको देखिन्छ। ठूलो रकम नगदमै चलाउन सकिने भएकाले अपराधीले आफ्नो पहिचान लुकाउन, अवैध कारोबार गर्न, घुस दिन–लिन, ठगीबाट उठाएको रकम व्यवस्थापन गर्न र अपराधबाट प्राप्त सम्पत्ति लुकाउन सजिलो हुन्छ। यदि प्रत्येक आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुने व्यवस्था भएमा रकमको स्रोत र गन्तव्य सहजै ट्र्याक गर्न सकिन्छ।
त्यसैले अपराध, भ्रष्टाचार, ठगी तथा कालोधन नियन्त्रणका लागि सरकारले नोट खारेजीको स्पष्ट रोडम्याप ल्याउन आवश्यक छ। दैनिक उपभोगका लागि आवश्यक किनमेल प्रभावित नहोस् भनेर देशभरका सबै पसल, होटल, यातायात, विद्यालय, अस्पताल तथा सेवा प्रदायक संस्थामा डेबिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ र डिजिटल भुक्तानी अनिवार्य गर्नुपर्छ। किराना पसलदेखि ठूला व्यवसायसम्म नगदको सट्टा डिजिटल कारोबार लागू गर्न सके अपराधका लागि आवश्यक हुने नगदको प्रयोग घट्ने, आर्थिक पारदर्शिता बढ्ने र राज्यलाई अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ।