१. घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। उनी उपभोक्ता समिति अध्यक्षसँग योजनाको भुक्तानी तथा प्रशासनिक काममा सहजीकरण गरिदिने भन्दै ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा औरही सडक क्षेत्रबाट अख्तियारको टोलीले पक्राउ गरेको थियो। अनुसन्धानपछि उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको हो।
२. सुधारगृहबाट भागेका दुई बालक पक्राउ
पर्साको वीरगञ्जस्थित बाल सुधारगृहबाट भागेका दुई बालकलाई प्रहरीले भागेको करिब डेढ घण्टामै नियन्त्रणमा लिएको छ। उनीहरु शौचालयको भेन्टिलेटर फुटाएर फरार भएका थिए। सुधारगृहबाट निस्किएपछि उनीहरूको खोजीका लागि तत्काल परिचालन गरिएको टोलीले फरार बालकहरूलाई पुनः नियन्त्रणमा लिएर सुधारगृहमा फर्काएको छ। उनीहरू डाँका चोरी मुद्दामा बाल सुधारगृह पुगेका हुन्। घटनापछि सुधारगृहको सुरक्षा व्यवस्थामाथि थप निगरानी बढाइएको जनाइएको छ।
३. युरोप पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने तीन जना पक्राउ
ग्रीस, क्रोएसिया, सर्बिया लगायत विभिन्न युरोपेली देशमा आकर्षक रोजगारी दिलाइदिने आश्वासन दिएर सर्वसाधारणबाट रकम उठाएको आरोपमा प्रहरीले तीन जनालाई छुट्टाछुट्टै पक्राउ गरेको छ। पक्राउ पर्नेमा सन्तोष अधिकारी, हेमन्त केसी र सुकदेव राई रहेका छन्। उनीहरूले वैदेशिक रोजगारीका नाममा पीडितहरूबाट लाखौं रुपैयाँ असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका व्यक्तिमाथि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
४. महेन्द्र बिन्देश्वरी क्याम्पसमा ३० हजार रुपैयाँमा शोधपत्र बिक्री
सप्तरीस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहका शोधपत्र ३० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको तथ्य सार्वजनिक भएको छ। अनुसन्धान र शैक्षिक इमानदारीको आधार मानिने शोधपत्र नै व्यापारको माध्यम बनेपछि विद्यार्थी तथा प्राध्यापक वृत्तमा चिन्ता बढेको छ। यसले उच्च शिक्षामा मौलिक अनुसन्धानभन्दा नक्कली र किनबेचको प्रवृत्ति मौलाएको देखाएको छ।
५. जेलमुक्त भएको छ महिनापछि फेरि लागूऔषध कारोबारमा संलग्न
तीन वर्ष कैद सजाय भोगेर करिब छ महिनाअघि रिहा भएका एक व्यक्ति पुनः ३०० ग्राम खैरो हिरोइन सहित पक्राउ परेको छ। किशोर प्रसाद ओझैयालाई भारतबाट लागुऔषध ल्याएको सुचनाको आधारमा बालकुमारीबाट पक्राउ गरिएको हो। प्रहरी पुग्दा भाग्न खोजेपछि गोलि चलाई उनि सहित अन्य दईजनालाई पक्राउ गरिएको छ।
६. यात्रुलाई दुःख दिने १० जना नियन्त्रणमा
काठमाडौंका विभिन्न सार्वजनिक स्थानमा यात्रुलाई जबरजस्ती तानातान, हैरानी तथा अवाञ्छित व्यवहार गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। यात्रुहरूबाट लगातार गुनासो आएपछि प्रहरी परिचालन गरिएको थियो। पक्राउ परेकामाथि सार्वजनिक शान्ति तथा अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
७. धनगढीमा एकै दिन ११ युवा लागूऔषधसहित पक्राउ
कैलालीको धनगढी तथा आसपासका क्षेत्रमा एकै दिन गरिएको कारबाहीमा ११ जना युवा लागूऔषधसहित पक्राउ परेका छन्। उनीहरूको साथबाट खैरो हेरोइन, नियन्त्रित औषधि तथा अन्य प्रतिबन्धित पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कानुनअनुसार अनुसन्धान भइरहेको छ।
८. कञ्चनपुरमा जनप्रतिनिधि लागूऔषधसहित समातिए
कञ्चनपुरमा भीमदत्त नगरपालिका–१८ की वडा सदस्य रूपा जैरू लागूऔषधसहित पक्राउ परेका छन्। प्रहरीको विशेष निगरानीका क्रममा उनीमाथि शंका लागेपछि जाँच गर्दा लागूऔषध फेला परेको थियो। घटनापछि सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
९. सिरहामा दुई भारतीय नागरिक लागूऔषधसहित पक्राउ
सिरहा प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारका छोटु भन्ने रञ्जित कुमार पासवान र अर्का १६ वर्षीय भारतीय बालक रहेका छन्। उनीहरुको साथबाट १०१ ग्राम ६ मिलिग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बरामद गरिएको छ। प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ।
१०. कोशीबाट १३ जना लागुऔषधमा संलग्न पक्राउ
कोशी प्रदेशबाट लागुऔषध कारोबारमा संलग्न आरोपमा १३ जना पक्राउ परेका छन्। झापा, मोरङ, धनकुटा, उदयपुर र सुनसरीबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि, गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हिरासतमा राखिएको छ।
यी घटनाहरूले अपराध, लागूऔषध कारोबार, तस्करी तथा अवैध गतिविधिमा नगद अर्थतन्त्रको ठूलो भूमिका रहेको देखाउँछन्। नगद रकमको प्रयोगले कारोबार लुकाउन, हिसाब छिपाउन र अपराधबाट प्राप्त रकम सजिलै परिचालन गर्न मद्दत गर्छ। तर दैनिक उपभोगका सामान खरिद गर्न भने नगद अनिवार्य छैन। क्यूआर, मोबाइल बैंकिङ, डेबिट कार्ड तथा पीओएस प्रणालीमार्फत सहज रूपमा भुक्तानी गर्न सकिन्छ। त्यसैले अपराध, भ्रष्टाचार, तस्करी र अवैध कारोबार नियन्त्रणका लागि सरकारले क्रमिक रूपमा नोट खारेजीको नीति अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ। सबै पसलमा अनिवार्य डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली लागू गरिए दैनिक जनजीवन प्रभावित नहुने, तर नगदमा आधारित अपराध नियन्त्रण गर्न महत्त्वपूर्ण सहयोग पुग्नेछ।