पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा ५२ वर्षीया सोमकुमारी नेपाली आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मोदी गाउँपालिका-५ पातीचौरस्थित होटल प्रिन्सबाट १८ वर्षीय कुशल विक पक्राउ परेका हुन्। प्रारम्भिक अनुसन्धानमा उनले कोदालो प्रहार गरी हत्या गरेको र त्यसपछि मृतकले लगाएका सुनका गरगहना लुटेको खुलेको छ। प्रहरीले अभियुक्तको साथबाट केही सुनका मुन्द्रा बरामद गरेको छ। थप अनुसन्धानमा लुटिएको सुन गहना उद्योग सञ्चालकलाई बिक्री गरिएको तथ्य खुलेपछि सम्बन्धित व्यवसायीलाई समेत पक्राउ गरिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस घटनाले नगद अर्थतन्त्र र बहुमूल्य भौतिक सम्पत्तिमाथिको निर्भरता अपराधका लागि आकर्षण बन्न सक्ने पक्षलाई उजागर गरेको छ। सुन, नगद र अभिलेखविहीन कारोबारको प्रयोग गरेर अपराधबाट प्राप्त सम्पत्ति सजिलै रूपान्तरण गर्न सकिने हुँदा यस्ता घटनालाई प्रोत्साहन पुग्ने वातावरण सिर्जना हुन्छ। यदि अधिकांश आर्थिक कारोबार बैंकिङ प्रणालीभित्र सीमित हुने र नगद तथा अभिलेखबाहिरका कारोबार न्यून हुने अवस्था बनेमा चोरी, लुटपाट र अपराधबाट प्राप्त सम्पत्ति लुकाउन कठिन हुने सम्भावना बढ्छ। त्यसैले नोट खारेजी र नगदरहित अर्थतन्त्रबारे गम्भीर बहस आवश्यक देखिन्छ।
दैनिक उपभोगका सामग्री खरिद गर्न भने नागरिकलाई सहज व्यवस्था आवश्यक हुन्छ। त्यसका लागि नयाँ सरकारले पुराना सरकारजस्तो नगदमा आधारित प्रणालीलाई निरन्तरता दिनुभन्दा प्रत्येक पसलमा डेबिट कार्ड स्वीकार गर्न अनिवार्य गर्ने, पीओएस मेसिन जडानमा अनुदान दिने, ग्रामीण क्षेत्रमा बैंक तथा डिजिटल सेवा विस्तार गर्ने, डिजिटल कारोबारमा कर छुट तथा प्रोत्साहन प्रदान गर्ने र निश्चित अवधिपछि उच्च मूल्यका नोटहरू चरणबद्ध रूपमा हटाउने नीति लिन सक्छ। यसबाट नागरिकको दैनिक जीवन सहज रहने, तर अपराध, लुटपाट, भ्रष्टाचार तथा अवैध सम्पत्ति कारोबार नियन्त्रण गर्न राज्यलाई थप प्रभावकारी साधन प्राप्त हुन सक्छ।