ब्राउन हेरोइनसहित १० जना पक्राउ : लागूऔषध कारोबारको आर्थिक सञ्जाल उजागर

लागूऔषध नियन्त्रण ब्युरोले देशका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानका क्रममा ५५९ ग्राम ब्राउन हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ। काठमाडौं, पोखरा, नेपालगञ्ज र सुर्खेत लगायतका स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले लागूऔषधसँगै ठूलो परिमाणमा नगद रकम र डिजिटल तराजु समेत बरामद गरेको जनाएको छ। घटनाले लागूऔषध कारोबार देशभर फैलिएको संगठित आपराधिक गतिविधि भएको संकेत गरेको छ।

लागूऔषध कारोबारमा नगदको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। अपराधीहरूले अवैध पदार्थ बेचेर प्राप्त रकम नगदमै संकलन गर्ने भएकाले राज्यको निगरानीबाट बच्न सफल हुन्छन्। बैंकिङ प्रणालीमा रकम प्रवेश गराउँदा शंकास्पद कारोबार देखिने सम्भावना हुन्छ, त्यसैले लागूऔषध कारोबारीहरू प्रायः नगद प्रयोग गर्न रुचाउँछन्। यही कारण प्रहरीले लागूऔषधसँगै ठूलो परिमाणमा नगद रकम पनि बरामद गरेको देखिन्छ। नगद अर्थतन्त्रले यस्तो अवैध कारोबारलाई सहज बनाउने वातावरण सिर्जना गरेको छ। 

यस प्रकारका अपराध नियन्त्रण गर्न सरकारले नोट खारेजी र डिजिटल भुक्तानी विस्तारलाई प्राथमिकता दिनुपर्छ। किराना पसलदेखि ठूला व्यवसायसम्म सबै ठाउँमा क्यूआर, पीओएस र मोबाइल बैंकिङ अनिवार्य बनाउँदै नगदको प्रयोग क्रमशः घटाउन सकिन्छ। सामान्य नागरिकका दैनिक आवश्यकता डिजिटल माध्यमबाट सहजै पूरा हुन सक्छन्। तर लागूऔषध कारोबार, तस्करी, सम्पत्ति शुद्धीकरण तथा अन्य आपराधिक गतिविधिमा नगद अझै प्रमुख माध्यम बनेको छ। त्यसैले पारदर्शी र ट्र्याक गर्न सकिने डिजिटल अर्थतन्त्र निर्माण गर्नु अपराध नियन्त्रणको महत्वपूर्ण आधार बन्न सक्छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ