सुर्खेतको वीरेन्द्रनगरस्थित बालाजी वस्त्रालयमा प्रहरीले छापा मारेर नगद रकम, सुनका गरगहना तथा एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उक्त पसलमा लामो समयदेखि नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा साट्ने, सुनका गरगहना धरौटी राख्ने तथा त्यसबापत निश्चित रकम लिने गतिविधि हुँदै आएको थियो। अनुसन्धानका क्रममा नगद र सुन बरामद गरिएको तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यो घटनाले नगदमा आधारित अर्थतन्त्रले कसरी अनौपचारिक वित्तीय कारोबारलाई बढावा दिन्छ भन्ने देखाउँछ। बैंकिङ प्रणालीबाहिर हुने मुद्रा सटही, सुन धरौटी र ब्याजसम्बन्धी कारोबार नगदकै कारण सजिलै सञ्चालन हुन सक्छन्। यस्ता कारोबारको अभिलेख नहुने भएकाले कर छली, अवैध वित्तीय गतिविधि, सम्पत्ति लुकाउने कार्य तथा संगठित आर्थिक अपराधलाई समेत सहयोग पुग्ने जोखिम रहन्छ। यदि सबै कारोबार बैंक, मोबाइल बैंकिङ, क्यूआर कोड, डेबिट कार्ड वा पीओएस प्रणालीमार्फत मात्र हुने व्यवस्था भएमा प्रत्येक लेनदेनको डिजिटल अभिलेख रहने थियो र यस्तो गतिविधि लामो समयसम्म लुकाउन कठिन हुने थियो। यस कारण नोटमा आधारित अर्थतन्त्रले अपराध र अनियमिततालाई सहज बनाउने वातावरण सिर्जना गरेको देखिन्छ।
यसैले सरकारले चरणबद्ध रूपमा नोट खारेजीको नीति लागू गरी ठूला तथा मध्यम सबै आर्थिक कारोबारलाई डिजिटल माध्यमबाट अनिवार्य गर्न आवश्यक देखिन्छ। दैनिक उपभोगका सामान खरिद गर्न नगद अनिवार्य छैन, किनकि क्यूआर, मोबाइल बैंकिङ, डेबिट कार्ड र पीओएस प्रणालीले सहज रूपमा कारोबार गर्न सकिन्छ। सरकारले प्रत्येक पसलमा डिजिटल भुक्तानी अनिवार्य गर्ने, नगद कारोबारको सीमा तोक्ने तथा डिजिटल पूर्वाधार विस्तार गर्ने नीति लिँदा यस्ता अवैध आर्थिक गतिविधिमा उल्लेखनीय कमी आउन सक्छ।