विभिन्न व्यक्तिहरूलाई प्रलोभन, झुट्टा आश्वासन वा आर्थिक लाभको नाममा ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। उदापुरबाट रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो। पक्राउ परेकाहरूविरुद्ध आर्थिक कारोबार तथा ठगीसम्बन्धी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पछिल्लो समय वैदेशिक रोजगारी, लगानी, सामान बिक्री वा अन्य बहानामा हुने ठगीका घटनाहरू बढिरहेका छन्। पीडितहरूबाट रकम असुलेर फरार हुने प्रवृत्ति समाजमा गम्भीर समस्याका रूपमा देखिएको छ।
ठगीका अधिकांश घटनाको मूल आधार नै नगद वा ट्र्याक गर्न कठिन आर्थिक कारोबार हुने गरेको देखिन्छ। जब रकम बैंकिङ प्रणालीबाहिर सिधै नगदमा लिइन्छ, पीडितले पछि प्रमाण जुटाउन कठिन हुन्छ। ठगी गर्ने व्यक्तिलाई पनि पैसाको स्रोत लुकाउन सजिलो हुन्छ। त्यसैले नोट खारेजी र पूर्ण डिजिटल आर्थिक प्रणालीले यस्ता घटनामा प्रमाण सङ्कलन र अनुसन्धान दुवैलाई सहज बनाउन सक्छ।
सरकारले प्रत्येक आर्थिक कारोबारलाई बैंकिङ वा डिजिटल प्रणालीमार्फत गर्न प्रोत्साहन मात्र होइन, केही क्षेत्रमा अनिवार्य नै बनाउनुपर्छ। रोजगारी शुल्क, भाडा, सेवा शुल्क, ठूलो खरिद-बिक्री र व्यक्तिगत आर्थिक लेनदेनसमेत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरिए ठगी गर्ने व्यक्तिको आर्थिक गतिविधि सहजै पत्ता लगाउन सकिन्छ। नयाँ सरकारले नगदमाथिको निर्भरता घटाएर डिजिटल कारोबारलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाए ठगी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल हुन सक्छ।