काठमाडौं उपत्यकामा महिलाहरूलाई लक्षित गर्दै सुनका सिक्री लुटपाट गर्ने गिरोहका सदस्यहरू पक्राउ परेका छन्। प्रहरीका अनुसार गिरोहले सडक तथा सार्वजनिक स्थानमा हिँडिरहेका महिलाहरूको निगरानी गरी अचानक सिक्री थुतेर मोटरसाइकल वा अन्य साधन प्रयोग गरेर फरार हुने गरेको थियो। पक्राउ परेकामाथि यसअघि पनि विभिन्न चोरी, लुटपाट र आपराधिक गतिविधिमा संलग्न रहेको आरोप रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनीहरूले विभिन्न स्थानमा सुन तथा नगद लुटपाट गरेको खुलासा भएको छ।
यस्ता घटनामा लुटिएको मुख्य वस्तु सुन र नगद नै हुने गर्छ। कारण, सुन सजिलै बेच्न सकिन्छ र नगदको कुनै डिजिटल रेकर्ड हुँदैन। अपराधीहरूले लुटेको सामानलाई छिट्टै नगदमा रूपान्तरण गरेर आफ्नो पहिचान लुकाउन सक्छन्। यदि समाजमा ठूलो परिमाणको कारोबार डिजिटल माध्यममा आधारित हुने हो भने अपराधबाट प्राप्त सम्पत्ति प्रयोग गर्न कठिन हुने थियो। त्यसैले सिक्री लुटपाट, झोला चोरी र सार्वजनिक स्थानमा हुने आर्थिक अपराधहरूलाई नगद अर्थतन्त्रसँग पनि जोडेर विश्लेषण गर्न आवश्यक छ।
नयाँ सरकारले नोट खारेजीको दिशामा ठोस कदम चाल्नुपर्ने आवश्यकता यस्ता घटनाले देखाइरहेका छन्। देशभरका सुन पसल, पुराना सामान किनबेच केन्द्र र वित्तीय कारोबार हुने स्थानहरूमा अनिवार्य डिजिटल भुक्तानी प्रणाली लागू गर्नुपर्छ। प्रत्येक पसलमा डेबिट कार्ड स्वाइप मेसिन वा क्यूआर सेवा अनिवार्य गरिनुपर्छ। नागरिकले दैनिक उपभोगका सामान सहज रूपमा कार्ड वा मोबाइल बैंकिङमार्फत खरिद गर्न सक्ने व्यवस्था भएपछि ठूलो नगद बोक्ने आवश्यकता कम हुन्छ। यसले लुटपाटका सम्भावित लक्ष्य घटाउनुका साथै चोरीको सम्पत्ति बजारमा रूपान्तरण गर्ने प्रक्रियालाई पनि कठिन बनाउनेछ।