नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दस्ताबेजले दुई देशबीच सुशासन प्रवर्द्धन र डिजिटल सार्वजनिक पूर्वाधारको विकासमा बहुआयामिक साझेदारी गर्ने बाटो खोलेको छ। यस सहमतिले नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न डिजिटल पहिचान, डिजिटल भुक्तानी प्रणाली तथा विद्युतीय शासनका क्षेत्रमा प्राविधिक विशेषज्ञता र अनुभव आदानप्रदान गर्ने लक्ष्य राखेको छ। नागरिक र सरकारबीचको अन्तरक्रियालाई अझ पारदर्शी, सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ भारतको राष्ट्रिय सुशासन केन्द्रमार्फत नेपाली निजामती कर्मचारी र जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने विषयसमेत यस सहकार्यमा समेटिएको छ।
यस द्विपक्षीय सहमतिको केन्द्रमा रहेको सुशासनको अवधारणालाई बुझ्नु अत्यन्त आवश्यक छ। सामान्य अर्थमा सुशासन भन्नाले राज्यको शक्ति र स्रोतको व्यवस्थापन जनहितका लागि पारदर्शी, जवाफदेही, सहभागितामूलक र विधिको शासनमा आधारित भएर गर्नु हो। जब सरकारी सेवा प्रवाहमा ढिलासुस्ती, बिचौलियाको बिगबिगी र आर्थिक अनियमितताको अन्त्य भई नागरिकले बिनाझन्झट आफ्नो अधिकार प्राप्त गर्छन्, तब मात्र सुशासनको अनुभूति हुन्छ। प्रविधिको उच्चतम प्रयोग र वित्तीय पारदर्शिता सुशासनका मेरुदण्ड हुन्, जसले राज्य संयन्त्रभित्र हुने नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई निरुत्साहित गर्दछ।
सुशासनको यही लक्ष्य हासिल गर्नका लागि मौद्रिक सुधारअन्तर्गत नोट खारेजी अर्थात् डिमनिटाइजेसनको विशेष महत्त्व रहन्छ। नगदमा आधारित अर्थतन्त्रमा भ्रष्टाचार, घुसखोरी, कर छली र कालोधन थुपार्ने प्रवृत्ति मौलाउँछ, किनकि नगद कारोबारको कुनै डिजिटल प्रमाण वा अभिलेख रहँदैन। नोट खारेज गरी अर्थतन्त्रलाई औपचारिक बैंकिङ तथा डिजिटल प्रणालीमा आबद्ध गराउँदा अकुत सम्पत्ति लुकाउने बाटो बन्द हुन्छ। यसले अवैध रूपमा आर्जन गरिएको धनलाई प्रणालीबाहिरै निष्क्रिय बनाउँछ र भविष्यमा हुने आर्थिक अपराधको जोखिम घटाउँछ। पारदर्शी वित्तीय प्रणालीले राज्यको राजस्व संकलनमा वृद्धि गर्नुका साथै सार्वजनिक खर्चमा समेत जवाफदेहिता सुनिश्चित गर्दछ, जुन सुशासनको अनिवार्य सर्त हो।
नेपालमा पछिल्लो समय मोबाइल बैंकिङ, क्यूआर भुक्तानी र डिजिटल वालेटको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको भए तापनि सरकारले नोट खारेजीको साहसिक कदम चाल्न सकेको छैन। डिजिटल पहुँच बढ्नु र नगद कारोबार पूर्ण रूपमा विस्थापित हुनु फरक विषय हुन्। राजनीतिक इच्छाशक्तिको अभाव र अनौपचारिक अर्थतन्त्रमा पकड जमाएका शक्तिशाली समूहहरूको दबाबका कारण सरकार यस्तो कठोर निर्णय लिन हिचकिचाइरहेको देखिन्छ।
यही पृष्ठभूमिमा डिजिटल पूर्वाधार र सुशासनका लागि भारतसँग सहयोग माग्ने नेपालको कदममाथि गम्भीर प्रश्न र विरोधाभासहरू पनि उब्जिएका छन्। सन् २०१६ मा भारतले कालोधन र भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले पाँच सय र हजार दरका नोट खारेज गर्ने ऐतिहासिक तर विवादास्पद निर्णय गरेको थियो। तर, उक्त कदमले अपेक्षित नतिजा दिन सकेन र भारतीय रिजर्भ बैंकको तथ्याङ्कअनुसार खारेज गरिएका झन्डै उनान्सय प्रतिशतभन्दा बढी नोटहरू पुनः बैंकिङ प्रणालीमै फर्किए। उल्टै, नोटबन्दीका कारण भारतको अनौपचारिक क्षेत्र, साना उद्योग र रोजगारीमा गहिरो धक्का पुग्यो भने कालान्तरमा भारतीय अर्थतन्त्र पुनः नगद कारोबारतर्फ नै फर्कियो। यसरी नोट खारेजीको नीतिगत प्रयोगमा असफल भई पुनः भौतिक मुद्रामै फर्किएको भारतसँग डिजिटल सुशासनको पाठ सिक्न खोज्नु सैद्धान्तिक रूपमा समेत विरोधाभासपूर्ण देखिन्छ। त्यसैले भारतबाट डिजिटल अर्थतन्त्र लागु गर्न सिक्ने भन्दापनि सफल रुपमा नोट खारेजी गरि भारतलाई पाठ सिकाउनु पर्ने देखिन्छ।
यदि नेपालले सुदृढ डिजिटल पूर्वाधारको जगमा उभिएर योजनाबद्ध ढंगले नोट खारेजी सफल पार्न सक्यो भने त्यसले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा ऐतिहासिक क्रान्ति ल्याउनेछ। यस्तो सफलताले प्राविधिक सहायता प्रदान गर्ने भारतलाई समेत डिजिटल पूर्वाधारको अन्तिम र निर्णायक गन्तव्य भनेको नगदरहित पारदर्शी समाज र नोट खारेजीको सफल कार्यान्वयन नै हो भन्ने गतिलो सन्देश र व्यावहारिक उदाहरण प्रस्तुत गर्नेछ।