१. लागूऔषध कारोबारमा देशभर ४३ जना पक्राउ
नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको विशेष अभियानका क्रममा ठूलो परिमाणमा लागूऔषधसहित ४३ जनालाई पक्राउ गरेको छ। कैलालीमा मात्रै ब्राउनसुगर, खैरो हेरोइन र चरेससहित ९ जनालाई पक्राउ गरिएको छ। दाङमा विभिन्न स्थानबाट ८ जना, सिराहामा २ जना, रूपन्देहीमा २ जना, अर्घाखाँचीमा गाँजासहित १ जना, सिन्धुलीमा ट्रामाडोल र डाइक्लोमाइन ट्याब्लेटसहित १ जना, दार्चुलामा १३ ग्राम चरेससहित १ जना, बर्दियामा २ जना, बाँकेमा १ सय ६८ ट्याब्लेट नाइट्राजेपामसहित १ जना, कञ्चनपुरमा ४ जना, झापामा ५ जना, मोरङमा १ जना र सुनसरीमा २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
२. अमेरिका र फिनल्याण्ड पठाइदिने भन्दै ३४ लाखभन्दा बढी ठगी
वैदेशिक रोजगारीको आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–२ का ४२ वर्षीय सविन आचार्य र भारत बिहार घर भई काठमाडौं गोकर्णेश्वर-८ बस्ने ३६ वर्षीय सफिकुर रहमान रहेका छन्। सविनले अमेरिका पठाइदिने भन्दै एक पीडितबाट २ लाख ६५ हजार रुपैयाँ र सफिकुरले फिनल्याण्ड पठाइदिने भन्दै तीन पीडितबाट ३२ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई पक्राउ गरेको हो। दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
३. झापा र मोरङमा ब्राउनसुगरसहित दुई जना पक्राउ
झापाको बिर्तामोड नगरपालिका-३ भाटभटेनी नजिकबाट अर्जुनधारा नगरपालिका–५ का ५० वर्षीय भरत मोहरालाई १ ग्राम ४ मिलिग्राम ब्राउनसुगर र नगद १३ हजार २ सय ६० रुपैयाँसहित पक्राउ गरिएको छ। त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट विराटनगर–१७ का २० वर्षीय अरमान मियालाई १ ग्राम ६ सय ७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै घटनामा थप अनुसन्धान जारी रहेको छ।
४. बौद्धमा ब्राउन हेरोइनसहित दुई पक्राउ
काठमाडौंमा प्रहरीले दुई जनालाई ब्राउन हेरोइनसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ का ४२ वर्षीय टेकबहादुर थापामगर र सिन्धुलीको दुधौली नगरपालिका–१० का २४ वर्षीय सन्तबहादुर बस्नेत रहेका छन्। घटनाबारे प्रहरीले लागूऔषध कारोबारको कोणबाट थप अनुसन्धान अघि बढाएको छ।
५. सुपारी र केराउपछि तरबुजको बीउ आयातमा पनि तस्करीको आशंका
सुपारी र केराउ आयातमा देखिएको अनियमिततापछि अहिले करिब ३ अर्ब रुपैयाँ बराबरको तरबुजको बीउ आयातमाथि पनि तस्करी तथा भन्सार छलिको आशंका गरिएको छ। सम्बन्धित निकायले आयातको परिमाण, वास्तविक बजार माग, मूल्य तथा आयातकर्ताको कारोबारबारे अनुसन्धान थालेका छन्। कृषि वस्तुको नाममा गलत घोषणा, भन्सार राजस्व छल्ने प्रयास तथा संगठित तस्करीको सम्भावित सञ्जालबारे छानबिन भइरहेका कारण यो विषय थप गम्भीर बनेको छ।
६. नागरिकता सिफारिसमा किर्ते गरेको आरोपमा रंगेलीका जनप्रतिनिधि पक्राउ
मोरङको रंगेली नगरपालिका–५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई झुटो विवरणका आधारमा अंगीकृत नेपाली नागरिकताका लागि सिफारिस गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जनाएअनुसार मनुवाकुमार महतोले अधनुनिया महतोलाई आफ्नी आमा भएको दाबी गर्दै नागरिकताका लागि निवेदन दिएका थिए। उक्त विवरण झुटो भएको जानकारी हुँदाहुँदै सर्जमिन मुचुल्कासहित सिफारिस गरेको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय मोरङले थप अनुसन्धानका लागि दुवैलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ। नागरिकता ऐनअन्तर्गत उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
७. जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ
प्रहरीले संखुवासभाको चैनपुर नगरपालिका-३, पोखरीबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि जुवा ऐनअनुसार अनुसन्धान अघि बढाइएको छ। प्रहरीले जुवाजन्य गतिविधि नियन्त्रणका लागि विशेष निगरानी जारी राखेको जनाएको छ।
८. जेठ महिनामा १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ
नेपाल प्रहरीका अनुसार जेठ महिनाभर देशभर सञ्चालन गरिएका कारबाहीमा लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न १ हजार ३६ जना पक्राउ परेका छन्। विभिन्न जिल्लाबाट लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिई सम्बन्धित कानुनअनुसार अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रणका लागि देशव्यापी निगरानी र कारबाहीलाई निरन्तरता दिइएको पनि प्रहरीले उल्लेख गरेको छ।
९. एक महिनामा २ हजार फरार प्रतिवादी पक्राउ
नेपाल प्रहरीले एक महिनाको अवधिमा देशभर विभिन्न अदालतबाट सजाय तथा जरिवाना तोकिएका करिब २ हजार फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ। विभिन्न जिल्लामा सञ्चालन गरिएको विशेष अभियानमार्फत उनीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा उपस्थित गराइएको छ। साथै उनीहरूबाट रु २३ करोड ४४ लाख ४३ हजार ८९१ जरिवाना असुलउपर गरिएको छ।
१०. ठगीको आरोपमा चार जना पक्राउ
विदेश पठाइदिने प्रलोभन देखाएर ४७ लाख ९२ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाले पोल्याण्ड, क्यानडा र मकाउ पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेर सम्पर्कविहीन भएका थिए। पक्राउ पर्नेमा सन्देश चौधरी, भगवतप्रसाद थारु, सरस्वती बारघरे र विकास दाहाल रहेका छन्। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
यी सबै घटनाले लागूऔषध कारोबार, ठगी, भ्रष्टाचार, अपहरण, फिरौती, तस्करी, जुवा तथा अन्य संगठित अपराधमा नगद अर्थतन्त्रले अपराधीलाई सहज वातावरण दिएको देखिन्छ। ठूलो परिमाणको नगद प्रयोग हुँदा अवैध रकम ओसारपसार गर्न, कारोबार लुकाउन, घुस दिन, प्रमाण मेटाउन तथा अपराधबाट प्राप्त रकमको हिसाब लुकाउन सजिलो हुन सक्न देखिन्छ। दैनिक उपभोगका सामान खरिदका लागि भने नगद अनिवार्य छैन; डेबिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ तथा अन्य विद्युतीय भुक्तानी प्रणालीबाट सहज रूपमा कारोबार गर्न सकिन्छ। त्यसैले सरकारले प्रत्येक पसलमा अनिवार्य डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली लागू गर्दै क्रमिक रूपमा नोट खारेजीको नीति अघि बढाएमा सर्वसाधारणको दैनिक जीवन प्रभावित नगरी वैध आर्थिक कारोबारलाई थप पारदर्शी बनाउन, नगदमा आधारित अवैध कारोबार घटाउन तथा अपराध नियन्त्रणमा सहयोग पुग्न सक्ने देखिन्छ।