बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा फरार रहेका ४७ वर्षीय राजु मिजारलाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि फरार रहेका ती व्यक्तिलाई विशेष निगरानीपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अदालतबाट फैसला भइसकेपछि पनि उनी फरार रहँदै आएका थिए। बैंकिङ प्रणालीको दुरुपयोग, चेक बाउन्स तथा विभिन्न आर्थिक अनियमिततासम्बन्धी मुद्दामा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।
यस प्रकारका बैंकिङ कसुर र चेक अनादरका घटनाले नगद अर्थतन्त्र र समानान्तर आर्थिक व्यवहारले आर्थिक अपराधलाई बढावा दिन सक्ने प्रश्न उठाउँछन्। कतिपय अवस्थामा नगद कारोबार, अनौपचारिक लेनदेन तथा पर्याप्त डिजिटल ट्र्याकिङको अभावले ठगी र आर्थिक छललाई सहज बनाउँछ। नोटको प्रयोगले वास्तविक कारोबार लुकाउन सजिलो हुने भएकाले आर्थिक अपराधीहरूले त्यसको फाइदा उठाउने गरेका छन्। साथै अपराधीलाई लामो समय सम्म लुकिछिपी बस्न समेत नोटले सहयोग पुर्याउछ। दैनिक जीवनका सामान्य कारोबार भने क्यूआर, पीओएस, मोबाइल बैंकिङ तथा अन्य डिजिटल माध्यमबाट सहज रूपमा गर्न सकिने भएकाले नोटमाथिको निर्भरता घटाउनुपर्ने आवश्यकता औँल्याइन्छ।
सरकारले नोट खारेजीको नीति अपनाउँदै सम्पूर्ण आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा आधारित बनाउने दीर्घकालीन योजना अघि सार्नुपर्छ। डिजिटल भुक्तानीलाई सर्वसुलभ र अनिवार्य बनाउँदा आर्थिक गतिविधिको अभिलेख रहने भएकाले ठगी, चेक अनादर तथा बैंकिङ अपराध नियन्त्रणमा सहयोग पुग्न सक्छ। अपराधमा नोटको प्रयोग हुने तर दैनिक जीवनमा त्यसको विकल्प उपलब्ध भइसकेकाले सरकारले डिजिटल अर्थतन्त्रलाई तीव्र रूपमा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ।