फरार कैदी, ठगि देखि हुण्डी सम्म, नोटको कारण बनेको आजको १० समाचारहरु

१. कारागारबाट फरार भएकी कैदी पुनः पक्राउ
जन्मकैद सजाय भोगिरहेकी नुवाकोटको विदुर नगरपालिका निवासी २५ वर्षीया सपना तामाङ सुन्धारा कारागारबाट फरार भएको केही दिनपछि काठमाडौंको असन क्षेत्रबाट पक्राउ परेकी छन्। चोरी तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेकी उनी मध्यरातमा कारागारको पर्खाल नाघेर भागेकी थिइन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएर पुनः कानुनी प्रक्रियामा अघि बढाएको छ।

२. यातायात कार्यालयमा सक्रिय ६ बिचौलिया पक्राउ
यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई छिटो काम गराइदिने प्रलोभन देखाएर रकम असुली गर्ने कार्यमा संलग्न ६ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। कार्यालयभित्र अनधिकृत प्रभाव प्रयोग गर्दै सेवाग्राहीलाई हैरानी दिने र अतिरिक्त रकम उठाउने गतिविधिमा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि सम्बन्धित निकायले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

३. राहदानी ठेक्का प्रकरणमा बयान प्रक्रिया लम्बियो
करिब ७ अर्ब ६६ करोड रुपैयाँ बराबरको राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तीव्र बनाएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ भने व्यवसायी सिद्धार्थ थापासहित अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान केन्द्रित भएको छ। सोहि प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नामसमेत म्याद तामेल गरेको छ ।

४. सप्तरीको दशगजामा तस्कर समूहद्वारा प्रहरीमाथि आक्रमण
सप्तरीको सीमावर्ती दशगजा क्षेत्रमा अवैध सामान ओसारपसार रोक्न खटिएको प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको छ। सीमाक्षेत्रमा सक्रिय समूहले प्रहरीको कारबाहीलाई अवरोध गर्न खोजेपछि तनावको अवस्था सिर्जना भएको थियो। घटनापछि सुरक्षा निकायले संलग्न व्यक्तिहरूको खोजी तथा सीमाक्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ।

५. पाँच वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका झापाको दमक नगरपालिका–८ निवासी २८ वर्षीय दिवस भनिने दिप्सन चौधरी पक्राउ परेका छन्। जिल्ला अदालत झापाले उनलाई दोषी ठहर गर्दै कैद सजाय तोकेको थियो। करिब पाँच वर्षदेखि फरार रहेका चौधरीलाई प्रहरीले पक्राउ गरी बाँकी १० वर्षको कैद भुक्तानका लागि कारागार पठाएको जनाएको छ।

६. जेलबाट फरार कैदी पुनः पक्राउ
जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका नवलपरासीको कावासोती-३ का २४ वर्षीय निशान तामाङलाई प्रहरीले पुनः पक्राउ गरेको छ। बलात्कार तथा बाल यौन दुव्र्यवहार मुद्दामा २५ वर्ष कैद र ७ लाख रुपैयाँ जरिवाना सजाय पाएका तामाङलाई महोत्तरीको बर्दिबास नगरपालिका–५ बाट पक्राउ गरी पुनः केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ।

७. अमेरिका लाग्ने प्रलोभनमा ठगी गर्ने दम्पती पक्राउ
विवाह गराइदिने र अमेरिका लैजाने आश्वासन दिएर विभिन्न व्यक्तिबाट रकम असुलेको आरोपमा एक दम्पतीलाई स्याङ्जाको भीरकोट नगरपालिका-२ लुगाडाँडा घर भएका सञ्जिव नेपाली र काभ्रेको मण्डनदेउपुर नगरपालिका-१२ की ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले विवाह र वैदेशिक बसोबासको सपना देखाएर पीडितहरूबाट रकम संकलन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

८. त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा सहित दुई जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद गतिविधिका क्रममा जांच गर्दा दुई जनालाई कतारी रियाल ४२ हजार ४ सय र अमेरिकी डलर ७ हजार ५ सय फेलामुद्रा सहित नियन्त्रणमा लिइएको छ। सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र चिनियाँ नागरिक ५१ वर्षीय मो युलोङलाई पक्राउ गरिएको हो। बरामद गरिएको विदेशी मुद्रा तथा सम्बन्धित कागजातबारे राजस्व अनुसन्धान र प्रहरीद्वारा थप छानबिन भइरहेको छ।

९. सर्लाहीमा ७५ बोरा फर्सीको बीउ बरामद
सर्लाहीमा भारततर्फ अवैध निकासीका लागि लुकाइराखिएको ७५ बोरा फर्सीको बीउ प्रहरीले बरामद गरेको छ। बरामद गरिएको बीउको अनुमानित मूल्य करिब १९ लाख ६० हजार रुपैयाँ रहेको छ। गोप्य सूचनाका आधारमा गरिएको कारबाहीपछि उक्त सामान आवश्यक प्रक्रिया अगाडि बढाउन भन्सार कार्यालयमा बुझाइएको छ।

१०. बाँकेमा ७७ फरार प्रतिवादी पक्राउ
बाँके जिल्लामा अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत विभिन्न मुद्दाका ७७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट कैद सजाय तथा करिब ४७ लाख २७ हजार रुपैयाँ बराबरको जरिवाना र क्षतिपूर्ति असुली प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्लामा एक महिनामै २०५ वटा अपराधका मुद्दा दर्ता भएका थिए भने फरार अभियुक्त खोजी अभियानलाई तीव्र बनाइएको छ।

यी घटनाहरू फरार अपराधी, ठगी, अवैध मुद्रा कारोबार, तस्करी, भ्रष्टाचार, बिचौलियातन्त्र तथा आर्थिक अपराधसँग सम्बन्धित छन्। यस्ता गतिविधिमा नगदको प्रयोगले पहिचान लुकाउन, अवैध कारोबार गर्न र अपराधबाट प्राप्त रकम चलाउन सहज बनाउने भएकाले नगदमा आधारित अर्थतन्त्रले अपराध नियन्त्रणलाई चुनौतीपूर्ण बनाएको देखिन्छ। दैनिक उपभोगका सामान खरिददेखि सामान्य कारोबारसम्म भने डेबिट कार्ड, क्यूआर भुक्तानी तथा मोबाइल बैंकिङमार्फत सहज रूपमा गर्न सकिने भएकाले सरकारले क्रमशः नोट खारेजीको नीति अपनाउनुपर्ने आवश्यकता देखिन्छ। सबै पसलमा अनिवार्य डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली लागू गरिए दैनिक जनजीवन प्रभावित नहुने, कारोबार पारदर्शी हुने तथा भ्रष्टाचार, ठगी, तस्करी र अन्य आर्थिक अपराध नियन्त्रणमा सहयोग पुग्न सक्ने देखिन्छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ