नेपाल प्रहरीको विशेष अभियानअन्तर्गत काठमाडौं, भक्तपुर, झापा, बर्दिया, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिरहासहित विभिन्न जिल्लाबाट लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न ३५ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर लगायत विभिन्न प्रकारका अवैध लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। विभिन्न चेकपोइन्ट, बजार क्षेत्र र शंकास्पद स्थानहरूमा गरिएको निगरानीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
लागूऔषध कारोबार विश्वभर नै धेरै हदसम्म नगदमा आधारित अपराध मानिन्छ। किनभने नगदको स्रोत पहिचान गर्न कठिन हुन्छ र कारोबारको डिजिटल अभिलेख पनि रहँदैन। लागूऔषध बेचेर प्राप्त रकमलाई विभिन्न माध्यमबाट लुकाउन, सार्न र पुनः प्रयोग गर्न नगद सबैभन्दा उपयोगी साधन बनेको हुन्छ। नेपालमा पनि यस्ता घटनाहरू बारम्बार देखिनु नगद अर्थतन्त्रको कमजोरीसँग जोडेर हेर्न सकिन्छ। नोट खारेजी र पूर्ण डिजिटल आर्थिक निगरानीले लागूऔषध कारोबारको वित्तीय सञ्जाल कमजोर बनाउन मद्दत गर्न सक्छ।
नयाँ सरकारले केवल पक्राउ अभियान चलाएर मात्र होइन, लागूऔषध कारोबारको आर्थिक जरा काट्ने नीति लिनुपर्छ। देशभरका पसल, होटल, यातायात, होलसेल बजार तथा सेवा क्षेत्रमा अनिवार्य डेबिट कार्ड र बैंकिङ कारोबार लागू गरिनुपर्छ। दैनिक उपभोगका वस्तु किन्न नगद आवश्यक नपर्ने व्यवस्था बनेपछि अवैध नगदको उपयोग क्षेत्र स्वतः साँघुरिन्छ। डिजिटल कारोबार अनिवार्य हुँदा शंकास्पद रकमको निगरानी गर्न सजिलो हुन्छ, कर प्रणाली बलियो बन्छ र अपराधबाट कमाइएको पैसा खुला रूपमा चलाउन कठिन हुन्छ। त्यसैले पुराना सरकारले गर्न नसकेको नोट खारेजी र नगदरहित आर्थिक प्रणालीतर्फको साहसी कदम अहिलेको सरकारले चाल्नुपर्ने आवश्यकता देखिन्छ।