प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। उनीहरूले विभिन्न देश पठाइदिने आश्वासन दिएर पीडितबाट ठूलो रकम उठाएका थिए तर पछि सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाएको छ।
वैदेशिक रोजगारीका धेरै ठगीहरूमा पीडितले नगद वा अस्पष्ट भुक्तानी माध्यम प्रयोग गर्ने गरेका कारण रकमको प्रमाण कमजोर हुन्छ। ठगी गर्ने व्यक्तिले पैसा लिएपछि रकमको स्रोत र गन्तव्य पहिचान गर्न कठिन हुन्छ। यदि अधिकांश रकम बैंकिङ प्रणालीबाट गएको भए अनुसन्धान सरल हुने थियो। यसले देखाउँछ कि आर्थिक अपराधलाई सजिलो बनाउने एउटा ठूलो कारक नगद अर्थतन्त्र पनि हो। नयाँ सरकारले विगतका सरकारजस्तो घटना भएपछि पक्राउ गर्नेभन्दा पनि घटना हुन नदिने नीति ल्याउनुपर्छ।
वैदेशिक रोजगार ठगीमा नगदको भूमिका फरक हुन्छ, यहाँ नगदले झूटो विश्वासलाई सजिलो बनाउँछ। मानिसहरूले “अहिले नै पैसा दिनुपर्छ” भन्ने दबाबमा रकम दिन्छन् र पछि प्रमाणको अभाव हुन्छ। सरकारले नोट खारेजीसँगै रोजगार एजेन्सी, शैक्षिक परामर्श संस्था र सेवा प्रदायकमार्फत हुने सबै भुक्तानी बैंक वा डेबिट कार्डमार्फत अनिवार्य गर्न सक्छ। प्रत्येक कारोबारमा डिजिटल रसिद स्वतः जारी हुने व्यवस्था गर्न सकिन्छ। यसले दैनिक जीवनका साना कारोबारलाई असर नगरी ठगी नियन्त्रणमा ठूलो सहयोग पुर्याउन सक्छ।