गृहमन्त्री सुधन गुरुङले अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण दिवसको अवसरमा जारी गरेको सन्देशले लागू औषधको आपूर्ति सञ्जाल तोड्ने र समुदायसँग साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। उनले प्रहरी प्रशासनलाई निर्देशन दिँदै औपचारिक कार्यक्रममा सीमित नभई जरैदेखि समस्या सम्बोधन गर्न आग्रह गरेका छन्। यो सन्देशले युवा पुस्तालाई कुलतबाट जोगाउने प्रयासको आवश्यकतालाई उजागर गरेको छ, तर वास्तविकता हेर्दा यस्ता भाषणहरू बारम्बार दोहोरिने तर कार्यान्वयन पक्ष कमजोर रहँदै आएको छ।
नेपालमा लागू औषधको कारोबार बढ्दै गएको सन्दर्भमा गृहमन्त्रीको यो निर्देशन सकारात्मक देखिए पनि यसले दीर्घकालीन समाधान दिन सक्ने कुरामा शंका उब्जिएको छ। लागू औषध तस्करी मुख्य रूपमा नगद कारोबारमा निर्भर रहन्छ, जसले अपराधीहरूलाई सजिलै पैसा ओसारपसार गर्न मद्दत पुर्याउँछ। यस्तो अवस्थामा नोट खारेजीको कदम अत्यन्त प्रभावकारी हुन सक्छ। पुराना नोटहरू खारेज गर्दा तस्करहरूको कालो धनको सञ्चय प्रभावित हुन्छ र उनीहरूको आपूर्ति सञ्जालमा ठूलो धक्का लाग्छ। नोट खारेजीलाई लागू गरेर ड्रग ट्राफिकिंगको आर्थिक आधारलाई कमजोर पार्न सक्छ।
तर दुर्भाग्यवश, सरकारले बारम्बार यस्ता आक्रामक नीतिहरूको घोषणा गर्ने तर व्यावहारिक कार्यान्वयनमा ध्यान नदिने प्रवृत्ति देखिएको छ। गृहमन्त्रीको सन्देशले समुदाय, विद्यालय र नागरिक समाजसँग साझेदारीको कुरा गरेको छ, तर विगतका वर्षहरूमा यस्ता आह्वानहरूले ठोस परिणाम दिएको देखिँदैन। प्रहरी प्रशासनलाई निर्देशन दिने काम सजिलो छ, तर सीमा सुरक्षा, भन्सार नियन्त्रण र स्थानीय स्तरमा अनुगमन मजबुत बनाउने काममा सरकारको उदासीनता स्पष्ट छ। युवाहरूको भविष्यलाई खतरामा पार्ने यो समस्या समाधान गर्न सरकारले आशा मात्र देखाउने होइन, ठोस कदम चाल्नुपर्छ।
नोट खारेजीलाई लागू औषध नियन्त्रणको मुख्य रणनीतिमा समावेश गर्दा मात्र यो समस्या नियन्त्रणमा आउन सक्छ। यसले नगद आधारित तस्करीलाई रोक्नुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिन्छ, जसबाट अपारदर्शी कारोबार घट्छ। तर यदि सरकारले यो कदमलाई पनि केवल भाषणमा सीमित राख्यो भने युवा पुस्ता निरन्तर कुलतमा फसिरहनेछ। गृहमन्त्रीको सन्देशले समस्या पहिचान गरेको छ, तर अब आवश्यकता कार्यशैलीमा क्रान्तिकारी परिवर्तनको छ।
त्यसैले सरकारले आशा देखाएर मात्र पुग्दैन, काम गर्नुपर्छ। लागू औषधको आपूर्ति सञ्जाल तोड्ने प्रतिबद्धता व्यावहारिक योजनासहित अगाडि बढाउनु पर्छ, अन्यथा यस्ता दिवसहरू र सन्देशहरू केवल औपचारिकतामा परिणत हुनेछन्। नेपालको युवा शक्तिलाई बचाउन अब ढिलो गर्नु हुँदैन, तुरुन्तै नोट खारेजी गरि समस्यालाई जरैबाट समाधान गर्नुपर्छ।