|

लागूऔषध ओसारपसार देखि हत्या सम्म; नोट सम्बन्धि आजको १० समाचारहरु

१. नेपालगञ्जमा खैरो हेरोइनसहित एक पक्राउ
बाँकेको नेपालगञ्जबाट १०५ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय राजेन्द्र लोनियालाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

२. यात्रुवाहक बसबाट दुई भारतीय पक्राउ
काठमाडौँको नागढुंगाबाट यात्रुवाहक बसमा सवार दुई जना भारतीय नागरिकलाई प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ। काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा सवार रहेका पश्चिम बंगाल सिलगुडीका मोना राय र पंकज बोसलाई ७५ ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका दुवै भारतीय नागरिकलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको छ ।

३. रुपन्देहीमा खैरो हेरोइनसहित पक्राउ
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बाट प्रहरीले ९७ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित ३४ वर्षीय जगदीश यादवलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा उनको साथबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवकविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

४. कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ
कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट खैरो हेरोइनलगायत लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ भने पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

५. युरोपियन भिसा लागेको राहदानी फिर्ता गर्न ६ लाख माग्ने दुई पक्राउ
थानकोटबाट युरोपियन भिसा लागेको राहदानी फिर्ता गरिदिने भन्दै ६ लाख रुपैयाँ मागेर बार्गेनिङ गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

६. देशभर जेठमा १ हजार ३६ जना लागूऔषध कारोबारी पक्राउ
नेपाल प्रहरीले जेठ महिनाभर सञ्चालन गरेको कारबाहीमा लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न १ हजार ३६ जनालाई पक्राउ गरेको जनाएको छ। विभिन्न जिल्लाबाट लागूऔषधसहित पक्राउ परेका उनीहरूमाथि सम्बन्धित कानुनअनुसार अनुसन्धान र मुद्दा प्रक्रिया अघि बढाइएको छ।

७. सुनको मुन्द्राका लागि १० वर्षीय बालकको हत्या आशंका, ४ जना पक्राउ
धनगढीमा १० वर्षीय बालकको हत्या सुनको मुन्द्रा लुट्ने उद्देश्यले गरिएको आशंकामा प्रहरीले चार जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ। बालक घरनजिकै मृत अवस्थामा फेला परेका थिए भने घटनाको कारण र संलग्नताको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

८. जनकपुरको होटलबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
धनुषाको जनकपुरधामस्थित थापा होटलबाट प्रहरीले पेस्तोल, म्यागजिन र चार राउन्ड गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया–४ का २० वर्षीय अमन यादव र हंसपुर–६ का १८ वर्षीय सुधिर मुखिया रहेका छन्। गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

९. कञ्चनपुरमा सात दिनमै लागुऔषधसहित २४ जना पक्राउ
कञ्चनपुर प्रहरीले सात दिनको अवधिमा २३ पुरुष र एक महिलासहित २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट १७.१६८ ग्राम खैरो हेरोइन तथा प्रोमेथाजिन र बुप्रेनोर्फिनका १५/१५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।

१०. कैलाली-कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना पक्राउ
कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी–७ का भोजराज ओझा, अर्जुन नेपाली, विष्णु खत्री, बर्दियाको राजापुर–८ का अरुण चौधरी, धनप्रसाद अधिकारी, कञ्चनपुरको वेदकोट–६ का सुरेन्द्र राना तथा एक १८ वर्षीय किशोर रहेका छन्। उनीहरूको साथबाट विभिन्न परिमाणमा खैरो हेरोइन बरामद गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

माथिका घटनाहरूले लागूऔषध कारोबार, ठगी, हत्या, अवैध हतियार ओसारपसार, फिरौती, तस्करी तथा अन्य संगठित अपराधमा नगद अर्थतन्त्रले अपराधीलाई सहज वातावरण दिएको प्रश्न उठाउँछन्। यस्ता अपराधमा नगद प्रयोग हुँदा अवैध रकमको स्रोत लुकाउन, कारोबार गोप्य राख्न, अपराधबाट प्राप्त रकम सुरक्षित रूपमा ओसारपसार गर्न तथा कानुनी निगरानीबाट बच्न सजिलो हुन सक्ने देखिन्छ। दैनिक उपभोगका सामान खरिदका लागि भने नगद अनिवार्य छैन, किनकि डेबिट कार्ड, क्यूआर कोड, मोबाइल बैंकिङ तथा अन्य विद्युतीय भुक्तानी प्रणालीबाट सहज रूपमा कारोबार गर्न सकिन्छ। त्यसैले सर्वसाधारणको दैनिक जीवनमा कुनै असर नपर्ने गरी सरकारले प्रत्येक पसलमा अनिवार्य डेबिट कार्ड तथा डिजिटल भुक्तानी प्रणाली लागू गर्दै क्रमिक रूपमा नोट खारेजीको नीति अघि बढाएमा नगदमा आधारित अपराध, भ्रष्टाचार, लागूऔषध कारोबार, ठगी तथा अन्य अवैध आर्थिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्न सक्ने देखिन्छ।

Similar Posts

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ