रौतहटको गुजरा नगरपालिका-२ का २६ वर्षीय राजकिशोर साहलाई वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ। काठ चोरी भइरहेको सूचनाका आधारमा डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोली जंगल क्षेत्रमा पुगेको बेला राजकिशोरसहितको समूहले आक्रमण गरेको थियो। घटनामा सहायक वन अधिकृत, वन रक्षक, वन उपभोक्ता समितिका सदस्य तथा गस्ती गाडी चालक घाइते भएका थिए। यस घटनापछि रौतहटका वन क्षेत्रमा सक्रिय काठ तस्करी सञ्जाल र त्यसले सिर्जना गरेको सुरक्षा चुनौती पुनः चर्चामा आएको छ।
यो घटना वन तस्करीसँग जोडिएको देखिन्छ। अवैध काठ कारोबार प्रायः नगदमा हुने भएकाले त्यसको वास्तविक कारोबारी, लगानीकर्ता र लाभग्राही पहिचान गर्न कठिन हुन्छ। यदि काठ खरिद, ढुवानी, मजदुरी भुक्तानी तथा वनजन्य वस्तुसम्बन्धी सम्पूर्ण आर्थिक कारोबार डिजिटल माध्यमबाट मात्र गर्नुपर्ने व्यवस्था भएको भए तस्करी सञ्जाल सञ्चालन गर्न निकै कठिन हुने थियो। नगद अर्थतन्त्रले अवैध कमाइलाई लुकाउन सजिलो बनाउँछ भने डिजिटल कारोबारले आर्थिक चिह्न छोड्छ। QR, POS मेसिन, मोबाइल बैंकिङ र बैंक खातामार्फत हुने कारोबारले काठ तस्करीबाट प्राप्त रकमको स्रोत र गन्तव्य पत्ता लगाउन सहयोग पुग्ने थियो।
यस कारण सरकारले क्रमशः नोट खारेजीको नीति अगाडि बढाउँदै वन क्षेत्र, ढुवानी व्यवसाय र कच्चा पदार्थ कारोबारलाई पूर्ण डिजिटल भुक्तानी प्रणालीमा ल्याउनुपर्छ। दैनिक उपभोगका वस्तु खरिदका लागि नगदको आवश्यकता छैन, किनकि QR, POS र मोबाइल बैंकिङले त्यसलाई सहज रूपमा प्रतिस्थापन गर्न सक्छन्। तर तस्करी, अवैध कारोबार र हिंसात्मक आपराधिक सञ्जाललाई सञ्चालन गर्न नगद अझै प्रभावकारी माध्यम बनेको छ। त्यसैले पारदर्शी अर्थतन्त्र निर्माणका लागि सरकारले नोटमाथिको निर्भरता घटाउन आवश्यक देखिन्छ।