१. गोलबजारमा २८ किलो गाँजासहित तीन जना पक्राउ
सिराहाको गोलबजार क्षेत्रमा प्रहरीले २८ किलोग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरूबाट लागुऔषध बरामद गरिएको हो। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
२. राहदानी खरिद प्रकरणमा विभागका महानिर्देशक आर्याल पक्राउ
पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा र तत्कालीन सचिव सोमेश थापासँग जोडिएको राहदानी खरिद प्रकरणको अनुसन्धानका क्रममा राहदानी विभागका महानिर्देशक तीर्थराज आर्याल पक्राउ परेका छन्। राहदानी खरिद प्रक्रियामा अनियमितता भएको आशंकापछि अनुसन्धान तीव्र पारिएको र यसै क्रममा आर्याललाई नियन्त्रणमा लिएर बयान लिने काम भइरहेको छ।
३. त्रिभुवन विमानस्थलमा ३० हजार रियालसहित एक जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित पाल्पाका १९ वर्षीय समीर बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ। विदेश जान लागेको उनको साथबाट ४० हजार रियाल सहित पक्राउ गरेको थियो। विदेशी मुद्रा सम्बन्धी नियम विपरीत रकम बोकेको पाइएपछि आवश्यक अनुसन्धान थालिएको छ।
४. म्याद गुज्रिएको पिठो र मसला बिक्री गरेको आरोपमा जरिवाना
बजार अनुगमनका क्रममा म्याद नाघेको पिठो र मसला बिक्री गरेको पाइएपछि आरआरआर नामक व्यवसायलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। बजार अनुगमनका क्रममा कैफियत भेटिएका ५ व्यावसायिक फर्मलाई समेत ५ लाख रुपैयाँ भन्दा बढी जरिबाना तिराएको थियो। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तु बिक्री गरेको पुष्टि भएपछि कारबाही गरिएको हो। सम्बन्धित निकायले उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ।
५. फार्महाउसको आवरणमा ट्रामाडोल कारोबार, १३ जना पक्राउ
काठमाडौंको टोखा र चन्द्रागिरि क्षेत्रमा फार्महाउस सञ्चालनको आवरणमा भारतबाट ट्रामाडोल ल्याई खाडल खनेर लुकाएर बिक्री गर्दै आएको आरोपमा १३ जना पक्राउ परेका छन्। उनीहरूबाट दुई लाख नौ हजार क्याप्सुल ट्रामाडोल, २ हजार ४ सय एम्पुल बुप्रेनोर्फिन, डाइजोपाम र फेनारगन, ७ लाख ८७ हजार ५ सय रुपैयाँ नगद तथा २८ वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ।
६. इथियोपियाबाट आएका यात्रुको पेटबाट डेढ किलो कोकिन बरामद
इथियोपियाबाट काठमाडौं आएका सेनेगलका नागरिक अमदोउ सारको पेटभित्र लुकाएर ल्याइएको करिब १.५ किलोग्राम कोकिन बरामद गरिएको छ। एक्स-रे परीक्षणपछि कोकिन रहेको पुष्टि भएको र लागूऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ। कोकिन लिन आएका दुई भारतीय महिला रुबी र सोनीलाई समेत प्रहरीले पक्राउ गरेको छ।
७. भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक सङ्गीता मिश्रालाई सफाइ
भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेकी पूर्व महानिर्देशक सङ्गीता मिश्रालाई विशेष अदालतले सफाइ दिएको छ। अख्तियारले मेसिन खरिदमा ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी काम गरेको दाबी गरेको थियो। प्रमाणको अभाव देखाउँदै अदालतले उनलाई आरोपमुक्त गरेको हो। यससँगै उनीविरुद्धको भ्रष्टाचार मुद्दा समाप्त भएको छ।
८. धादिङ र प्युठानबाट १७ थान भरुवा बन्दुक बरामद
प्रहरीले धादिङ र प्युठानका विभिन्न स्थानबाट १७ थान भरुवा बन्दुक बरामद गरेको छ। अवैध रूपमा राखिएका हतियार फेला परेपछि सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको छ। यस्ता हतियार अन्य आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने भएकाले निगरानी बढाइएको प्रहरीले जनाएको छ।
९. कानेपोखरी ठगी प्रकरणमा थप ११ पीडितको संयुक्त उजुरी
मोरङको कानेपोखरीस्थित सुनचाँदी व्यवसायसँग सम्बन्धित ठगी प्रकरणमा थप ११ जना पीडितले संयुक्त उजुरी दिएका छन्। यसअघि स्थानीय विष्णुमाया गिरीले २९ लाख १७ हजार रुपैयाँ ठगी भएको भन्दै किटानी जाहेरी दिएकी थिइन् । पीडितहरूले सम्पत्ति विवरण पत्ता लागिसक्दा पनि रकम फिर्ता प्रक्रिया अघि नबढेको गुनासो गरेका छन्।
१०. माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रहरीले काठमाडौँको माकलबारीबाट लागु औषध, नगद र प्रहरीको नक्कली परिचयपत्रसहित नवाङ शेर्पालाई पक्राउ गरेको छ। उनको साथबाट ३४६ एम्पुल लागु औषध, २५ हजार ५० रुपैयाँ नगद र नेपाल प्रहरीको नक्कली परिचयपत्र बरामद गरिएको थियो। उनलाई लागु औषध नियन्त्रण ऐनअन्तर्गत थप कानुनी कारबाही अघि बढाइएको छ।
यी घटनाहरूले नेपालमा लागूऔषध तस्करी, ठगी, भ्रष्टाचार, अवैध हतियार कारोबार तथा आर्थिक अपराध अझै पनि गम्भीर समस्याका रूपमा रहेको देखाउँछन्। यस्ता अपराधहरू सञ्चालन गर्न नगद अर्थतन्त्रले ठूलो भूमिका खेल्ने गरेको छ। ठूलो रकम नगदमा लुकाएर ओसारपसार गर्न, घुस दिन, अवैध कारोबार गर्न वा ठगीबाट प्राप्त रकम लुकाउन सहज हुने भएकाले अपराधीहरू नगदमा निर्भर हुने गरेका छन्। त्यसैले भ्रष्टाचार, अपराध र अवैध कारोबार नियन्त्रणका लागि नोट खारेजीको आवश्यक देखिन्छ।
दैनिक उपभोगका सामान खरिददेखि सामान्य कारोबारसम्ममा कुनै समस्या नआउने गरी सरकारले सबै पसलमा डेबिट कार्ड, क्यूआर कोड तथा विद्युतीय भुक्तानी प्रणाली अनिवार्य बनाउने नीति लागू गर्दै क्रमशः नोट खारेजीको दिशामा अघि बढ्न सके आर्थिक गतिविधि पारदर्शी बन्ने, कर छली घट्ने, घुस र अवैध नगद कारोबार नियन्त्रण हुने तथा अपराध नियन्त्रणमा समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ।